
काठमाडौ : तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरुवात गरेको आज २२औं वर्ष।
दश वर्षे सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएका माओवादीहरुले आजको दिनलाई जनयुद्ध दिवसमा मनाउँदै छन्। तर, आजकै दिनलाई माओवादी युद्धका पीडितहरुले शोक दिवसका रुपमा मनाउँदैछन्।
द्वन्द्व पीडितहरुले आज सिंहदरवार दक्षिण गेटमा धर्ना दिएर शोक दिवस मनाउँदै छन्।
सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको नारा दिएर क्रान्तिमा होमिएको तात्कालीन माओवादी अहिले चिरा–चिरामा रुपान्तरण भएको छ।
चार टुक्रा भएका माओवादीले आज चार स्थानमा जनयुद्ध दिवसका कार्यक्रम गर्दैछन्।
नेकपा माओवादी केन्द्रले दिउँसो १ बजे पेरिसडाँडामा जनयुद्ध दिवस मनाउँदैछ। कार्यक्रमको प्रमुख अतिथि छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।
माओवादीबाट फुटेर गठन मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले बुद्धनगरस्थित कार्यालयमा जनयुद्ध दिवस मनाउँदैछ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको माओवादीले खुल्लामञ्चमा जनयुद्ध दिवस मनाउँदैछ।
नेकपा माओवादीबाट विभाजित भएर आफुलाई कम्युनिष्ट समेत नमान्ने नयाँ शक्तिले पनि जनयुद्ध दिवस मनाउँदैछ। बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्तिले रंगशालामा जनयुद्ध दिवस मनाउँदैछ।