भारतमा ५४ वर्षदेखि फसेका पूर्व चिनियाँ सैनिक वाँग छिले शनिबार चीनको भूमि टेकेका छन्। लामो समयपछि भएको आफन्तहरुसितको भेटले उनलाई निकै भावुक बनायो। उनी लामो समयसम्म आफन्तको अँगालोमा बेरिएर रोइरहे।
वाँग छिसित उनका छोरा, छोरी र बुहारी पनि चीन पुगेका छन्।
यसअघि शनिबार बिहान चीन उड्नुअघि उनले तिरोडीका गाउँलेलाई भनेका थिए, 'तपाईँहरु अचम्म नमान्नुहोस्, म आफ्नो जन्मभूमि हेरेर चाँडै फिर्ता हुनेछु। त्यहाँ पुगेर मलाई सन्तोष र खुसी मिल्नेछ।'
वाँग छिका अनुसार १९६३ मा उनी चीनको भूमिबाट बाटो बराएर भारत आइपुगेका थिए। केही वर्ष भारतका जेलहरुमा बिताएपछि उनलाई मध्य प्रदेशको तिरोडी गाउँमा ल्याएर छोडिएको थियो। जहाँ उनले आफ्नो घरजम बसाएका थिए। परिवारबाट बिछोडिएका कारण उनी घण्टौँ रुने गर्दथे।
उनले बिबिसीलाई धन्यवाद दिँदै भने, 'बिबिसीका पत्रकारज्युलाई मेरोबारेमा कतैबाट जानकारी प्राप्त भएछ र उनलाई दु:ख लागेछ अनि उनी मेरो घरमा आए। मेरो सबै कहानी सुनेर उनले प्रकाशन पनि गरे। त्यसपछि मेरोबारेमा पूरै संसारलाई थाहा भयो। सरकारलाई पनि यो व्यक्तिलाई चाँडै चीन पठाउनुपर्छ भन्ने लाग्यो।'
झन्डै साढे पाँच दशकदेखि भारतमा फसेका यी चिनियाँ सैनिकबारे हामीले यसअघि पनि समाचार प्रकाशन गरेका थियौं। यहाँ क्लिक गरी पढ्न सक्नुहुनेछ-