PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

सोलुखुम्बुमा खाद्य संस्थानको चामल बिक्री भएन, बजारको मूल्यभन्दा संस्थानको मूल्य बढी



रासस

सल्लेरी (सोलुखुम्बु) : नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन।
 
बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताए।
 
खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो। उनी भन्छन्, 'संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको छ भने बजारमा यही चामल ४५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ।'
 
यतिबेला सल्लेरी डिपोमा बिक्री नभएको सबै चामल लुक्ला डिपोमा पठाउने तयारी भइरहेको छ।
 
सोताङ डिपोमा विगत दुईवर्षदेखि नै चामल बिक्री हुन छाडेपछि ढुवानीसमेत गर्न नसकिएको प्रमुख रेग्मीले बताए। खाद्यन्नको चामल गोदाममै थन्किएपछि बिक्री मूल्य संशोधनका लागि जिल्ला प्रशासन कार्यालय र संस्थानको प्रधान कार्यलयमा पत्र पठाइसकिएको छ।
 
सल्लेरी डिपोमा अहिले दुई सय ४२ क्विन्टल चामल मौज्दात छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell