PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै



रासस

रामपुर (पाल्पा) : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै आएको छ। नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत गत पुस ११ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो।
 
पाल्पामा सात हजार नागरिकले स्वास्थ्य बिमा गरेका छन्। हालसम्मको तथ्याङ्कअनुसार दुई हजार ५४९ महिला र दुई हजार दुई सय चार पुरुषको विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा सङ्कलन भइसकेको र बाँकीको तथ्याङ्क पनि दर्ता सहयोगीमार्फत आउने क्रममा रहेको बिमा कार्यक्रमका जिल्ला प्रबन्धक नारायणप्रसाद पौडेलले जानकारी दिए।
 
स्वास्थ्य बिमाका लागि ८२ कर्मचारीलाई कार्यालयले परिचालन गरिरहेको छ। पुस मसान्तभित्र बिमा दर्ता गरेका नागरिकले फागुन १ गतेबाट निःशुल्क स्वास्थ्य सेवा पाउने र पुस मसान्तयता दर्ता गरेकाले आउँदो जेठ १ गतेबाट सेवा पाउने व्यवस्था रहेको पौडेलले बताए।
 
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाबासीलाई दर्ता प्रक्रिया असहज नहोस् र उपचारमा कठिनाई नहोस् भन्ने उद्देश्यले कार्यालयले जिल्लाका छ स्थानमा सहयोगी प्रदायक संस्थामार्फत सेवा दिँदै आइरहेको छ। जसअन्तर्गत पाल्पा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, लुम्बिनी अञ्चल अस्पताल, रामपुर अस्पताल, खस्यौली प्राथमिक स्वास्थ्य चौकी र ताहुँ प्राथमिक स्वास्थ्य चौकीमार्फत सेवा उपलब्ध गराइएको हो।
 
प्रत्येक एक एक वर्षमा प्रति घरपरिवारले रु दुई हजार ५०० तिरेर नवीकरण गर्नुपर्ने संस्थानको नियम छ। नेपाल सरकारले पहिलो चरणमा बागलुङ, कैलाली र इलाम, दोस्रो चरणमा यस आर्थिक वर्षदेखि पाल्पासहित कास्की, म्याग्दी, अछाम र बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell