
काठमाडौं : वरिष्ठता मिचेर प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट हालेका छन्।
आफू वरीयताको पहिलो नम्बरमा हुँदाहुँदै तेस्रो नम्बरमा रहेका चन्दलाई नियुक्ति गर्ने सरकारी निर्णयविरुद्ध उनी सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन्। तेस्रो वरीयताका चन्दलाई आइजिपीमा नियुक्त गर्ने निर्णय खारेज गर्न र पहिलो वरीयतामा भएकाले आफूलाई सो पदमा नियुक्तिको आदेश पाऊँ भनी उनले रिट हालेका हुन्। उनको रिटमाथि भोलि सुनुवाइ हुने भएको छ।
आज बिहान मात्रै मन्त्रिपरिषद्को बैठकले डिआइजी चन्दलाई बढुवा गरी आइजिपीमा नियुक्ति गर्ने निर्णय गरेको थियो।
निर्णय भएको केही घन्टामै चन्दलाई आइजिपी नियुक्ति गर्ने निर्णय तत्काललाई यथास्थितिमै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।