PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने



रासस

वालिङ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाईअन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ।

कृषि विकास मन्त्रालयअन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएको हो।

'स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने, 'पहिलो चरणमा पुतलीबजार, भीरकोट नगरपालिका, एलादी, अर्जुनचौपारी र ठूलाडिही गाविसमा कार्यक्रम सञ्चालन हुनेछ भने बाँकी ठाउँमा दोस्रो चरणमा कार्यक्रम लैजाने छौँ।'

नेपाल सरकार र चीन सरकारबीच २०७० सालमा स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार निर्यात गर्ने सम्झौताअनुसार काम अगाडि बढाइएको कार्यालयले जनाएको छ।

दशवर्षको अवधिमा यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने कार्यालय प्रमुख हमालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell