काठमाडौं : देशभरका १३ जिल्ला अस्पतालहरुमा आजदेखि विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन भएको छ।
अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ताभित्रमा सेवा सुरु भइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म पनि विशेेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रिया सेवा नभएका सबै जिल्ला अस्पतालहरुमा सेवा सुरु गर्ने मन्त्रालयले निर्णय गरेको थियो।
विभिन्न स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरी त्यसका लागि आवश्यक व्यवस्था मिलाएका हुन्। मन्त्रालयको निर्णय अनुसार, अबदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाइने चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए।
अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने भएको छ। सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयको यो निर्णयसँगै फागुनको पहिलो हप्ता भित्रमा देशभरका सबै जिल्ला अस्पतालहरुमा चौबीसै घन्टा वर्षभरि विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन हुने भएको छ।
आजदेखि सेवा पाइने अस्पतालहरु
- सर्लाही
- धादिङ
- रोल्पा
- गोर्खा
- अर्घाखाँची
- उदयपुर
- धनकुटा
- नवलपरासी
- सप्तरीको राजविराज
- कञ्चनपुरको महेन्द्रनगर
- दाङको तुल्सीपुर
- नुवाकोटको त्रिशूली
- बाग्लुङको बुर्तिवाङ