काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित २२औं जनयुद्ध दिवसका अवसरमा बोल्दै प्रचण्डले संविधानलाई सर्वस्वीकार्य बनाउँदै निर्वाचनको प्रक्रियालाई पूरा गर्न, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र पुनर्निर्माणलाई तीव्रता दिन पार्टी र सरकार लागिपरेको बताए।
'दस वर्षसम्म चलेको जनयुद्धले पुरानो राजनीतिक सत्तालाई परिवर्तनमात्र गरेन महत्तवपूर्ण परिवर्तन पनि भए,' उनले भने, '१२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन हुँदै संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि हामीसामु छन्। जनताको तहसम्म यी सबैको अनुभूति हुन अझै बाँकी छ।'