
काठमाडौं : नेपाल पत्रकार महासंघमा अधिवेशन नजिकिएसँगै सदस्यता विवाद चर्किएको बेला सूचनाको अधिकार प्रयोग गरी नयाँ सदस्यको विवरण माग्दै निवेदन परेको छ।
महासंघले ६ महिनाभित्र दिइएका सदस्यता र सदस्यता दिदा अपनाइएको प्रकृयासँगै बुझाएको सबै विवरण माग्दै सञ्चारकर्मी रामप्रसाद दाहालले सूचनाको हक सम्बन्धि ऐन अनुसार महासंघमा निवेदन दिएका हुन्।
आइतबार दर्ता गरेको निवेदनमा उनले नयाँ सदस्यता पाउने र स्थानान्तरण गर्ने महासंघ विधानको व्यवस्था, एक शाखाबाट अर्को शाखा र प्रतिष्ठानमा सदस्यता स्थानान्तरणको विवरण र विधान अनुसार सदस्यता नदिइएको वा स्थानान्तरण नभएको पाइए अमान्य हुन्छ कि हुन्न भन्ने जानकारी माग गरेका छन्।
गैर पत्रकारलाई महासंघको सदस्यता दिएको भन्दै रुपन्देही, ३५ बढि महासंघ शाखाको सदस्यता सूची विवादमा छ। केन्द्रले समेत सदस्यतालाई पारदर्शी नगरेको भन्दै २ केन्द्रीय सदस्यले विज्ञप्ती निकालेका थिए। नेपाल प्रेस युनियनले गैर पत्रकारसँगै गैर नेपालीलाई समेत सदस्यता दिएको आरोप लगाउँदै आएको छ।