काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नवौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित थिए।
अधिकांश वक्ताले मेलम्ची आएपछि दैनिक १७ करोड लिटर पानी थपिने भएकाले नियमित चार घण्टा पानी वितरण गर्न सकिने भाषण गरेर औपचारिकता पूरा गरे।
कार्यक्रममा भाषण गर्ने पालो आएपछि माइक अगाडि पुगेका उनले कार्यक्रममा उपस्थित लिमिटेडका अधिकारीलाई प्रश्न गरे ‘महाप्रबन्धकज्यू पानी नआउने हावा फाल्ने धाराको महसुल तिर्ने कि नतिर्ने ?’
मन्त्रीको प्रश्नले महाप्रवन्धक रातो मुख लगाएर बसे।
प्रश्न मन्त्रीले सोधे। समस्या उपत्यकाका ४० लाख नागरिकले भोगिरहेका छन्। सुक्खा मौसम सुरु भएको बेला उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग छ । तर लिमिटेडले दैनिक नौ करोड लिटर मात्र आपूर्ति गर्न सक्छ । २६ करोड लिटर पानी अपुग छ ।
कार्यक्रममा लिमिटेडमा क्रियाशील काङ्रेस, एमाले लगायतका चारवटा ट्रेड युनियन कर्मचारी सङ्घ सङ्गठनका अध्यक्षले सबै समस्याको जड सञ्चालक समितिका अध्यक्ष सुरेशकुमार बस्नेतलाई लगाउँदै राजीनामाको माग गरे ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष सुरेशबहादुर कर्माचार्यले वार्षिकोत्सवका समयमा राजीनामा माग्नु उपयुक्त नहुने भन्दै अध्यक्ष बस्नेतको पक्ष लिए।
औपचारिक कार्यक्रममा अध्यक्ष बस्नेतले आफूलाई हटाउन एसियाली विकास बैंक (एडीबी) ले लबिङ गरेको दावी गर्दै कर्मचारीका नेता पनि एडीबीकै पछि लागेको आरोप लगाए।
मन्त्री सिंह मञ्चमा बसेर यी सबै रमिता हेरिरहेका थिए। प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दा उनी कर्मचारीको झगडा र अध्यक्ष बस्नेतले एडीबीमाथी लगाएको आरोपको वास्ता गरेनन।
उनले विद्युतझै कतै पानी पनि लुकाएर अन्तै विक्री गरिरहेको हो की भन्ने आशंका गर्दै निर्देशन दिए 'चुहावट भइरहेको पानी बचत गरी ग्राहकलाई तालिका बनाएर वितरण गर्नुस्, पानी वितरण गर्दा पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्नुस्।'
राससको सहयोगमा