PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​बैंक र सुनचाँदी चोरी बढेपछि प्रहरीको बनायो ‘फाइनान्स टास्क फोर्स’



पहिलोपोस्ट

रत्ननगर (चितवन) : चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बंैक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ। 

आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । 

यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो। 

यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । ‘आजबाट चौबिसैँ घन्टा, हातहतियार र सञ्चार सेटसहित क्युआरटी टोली र फाइनान्स टास्कफोर्स परिचालन भएका छन्, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले भने ‘ आवश्यकता अनुसार मोबाइल टोली समेत खटाइएको छ।’ 

नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट चार किलो सुन र चार किलो ५०० ग्राम चाँदीसहित नगद रु सात लाख चोरी भएको थियो। 

त्यसैगरी शुक्रबार राति अनुग्रह गहना सप्लायर्सबाट करिब रु आठ लाख बराबरको सुनको जलप गरिएका गहना चोरी भएको थियो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य गरी मध्य क्षेत्रकै व्यापारिक बजार नारायणगढमा सुनचाँदी व्यवसाय र बैंक तथा वित्तीय संस्था केन्द्रित छन्। 

सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell