
प्रिमियर लिग अन्तर्गत आइतबार दुई खेल भए। पहिलो खेल लिग उपाधिको लागि महत्वपूर्ण थियो भने दोस्रो खेल रेलिगेशनमा संघर्षरत दुई टोली बीचको भिडन्त थियो। नतिजा दुवै खेलको सोचे जस्तो आउन सकेन।
शीर्ष स्थानको चेल्सीलाई बर्नलीले १-१ को बराबरीमा रोक्यो भने गत वर्षको च्याम्पियन लेस्टर सिटीको खराब प्रदर्शन कायमै रहदाँ स्वानसी सिटीसँग पराजित हुन पुग्यो।
पेड्रो रोड्रिग्वजको गोलमा चेल्सीले खेलको सातौं मिनेटमै अग्रता लियो। तर उक्त अग्रता लोमो समय टिकेन। २४ औं मिनेटमा बर्नलीका रोवर्ट ब्राडीले गोल गर्दै खेल बराबरी गरे।
बराबरीसँगै चेल्सीले बर्नलीसँग अंक बाँड्नु पर्यो। जित हात पारेको भए चेल्सीले दोस्रो र तेस्रो स्थानमा रहेको टोटनहम र आर्सनलमाथि अंक दुरी १२ बनाउने थियो।
यद्यपी बराबरीपछि पनि चेल्सीले यी दुई कलबमाथि १० अंकको स्पष्ट अग्रता कायम गरेको छ।
टोटनहम र आर्सनलको समान ५० अंक छ भने चौथो र पाँचौं स्थानमा रहेको लिभरपुल र म्यानचेष्टर सिटीको समान ४९ अंक छ। सिटीले एक खेल कम खेलेको छ। अर्को म्यानचेष्टर क्लब युनाइेटडको ४८ अंक छ। यसले उपाधि भिडन्तमा भन्दा पनि शीर्ष चारमा पर्ने समिकरणमा रोमाञ्चकता थपेको छ।
लेस्टरको १४ औं हार
उपाधि भिडन्त र शीर्ष चारमा पर्नका लागि होडबाजी चलिरहदा रेलिगेशन क्षेत्रमा रहेका क्लबहरुबीच पनि चर्को भिडन्त जारी छ।
गत वर्ष सबैलाई आश्चर्यमा पार्दै पहिलो पटक प्रिमियर लिगको च्यामिपयन बनेको लेस्टर सिटीले यस वर्ष भने खराब फर्मलाई निरन्तरा दिँदा १४ औं हार बेहोरेको छ।
लेस्टर स्वान्सी सिटीसँग २-० ले पराजित भयो। घरेलु मैदानमा स्वान्सीलाई जित दिलाउन अल्फी मवसन, मार्टिन ओल्सनले १/१ गोल गरे।
हारसँगै लेस्टर रेलिगेशनमा पर्ने खतरा बढेको छ भने स्वान्सीलाई जितपछि केही राहत मिलेको छ।
२५ खेलपछि स्वान्सी २४ अंक जोड्दै १५ औं स्थानमा उक्लेको छ भने लेस्टर समान खेलबाट २१ अंकका साथ १७ औं स्थानमा छ। रेलिगेशन जोन भन्दा लेस्टर मात्र १ अंकले माथि छ। लेस्टरभन्दा पछाडी हल सिटी (२०), क्रिस्टल प्यालेस (१९) र सण्डरल्याण्ड (१९) छन्।
गत डिसेम्वरको अन्त्यमा वेष्टह्यामलाई पराजित गरेयता लेस्टर लिगमा जितविहन छ। त्यसपछि मिडल्स्ब्रोसँग गोलरहित बराबरी खेलेको लेस्टरले लगातार ५ खेलमा हार बेहोरेको छ।