
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा सेभिया र एथ्लेटिको मड्रिडले जित हात पार्दै महत्वपूर्ण ३ अंक जोडेका छन्।
सेभियाले अन्तिम दश मिनेटमा गोल गर्दै लस पलमसलाई १-० ले हराउँदै रियल र बार्सिलोनामाथि दबाब कायमै राखेको छ।
सेभियालाई जित दिलाउन ८० औं मिनेटमा जाओक्विन कोरेअले निर्णायक गोल गरे।
जितपछि सेभियाको २२ खेलबाट ४६ अंक भएको छ। समान खेलबाट बार्सिलोनाको ४८ तथा दुई खेल कम खेलेको रियलको ४९ अंक छ।
यस्तै एथ्लेटिको मड्रिडले अन्तिम चार मिनेटको अवधीम दुई गोल फर्काउँदै सेल्टा भिगोलाई ३-२ ले हरायो।
फर्नान्डो टोरेसले ३० औं मिनेटमा पेनाल्टी चुकाउँदा एथ्लेटिकोले अग्रता बनाउनु अवसर गुमाएपनि यानिक कारास्को र एन्टोनी ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई जित दिलाए।
छैटौं मिनेटमै गुस्ताभो काब्रालले गोल गर्दै सेल्टा अग्रता दिलाएपनि ५ मिनेटपछि टारेसले बराबरी गोल फर्काएका थिए। तर टोरेस पेनाल्टीमा चुक्दा एथ्लेटिको ३० औं मिनेटमा अग्रता लिनबाट चुक्यो।
७८ औं मिनेटमा जोहन गुइडेट्टीले गोल गर्दै सेल्टालाई २-१ को अग्रता दिलाए। तर एथ्लेटिकोले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्यो। ८६ औं मिनेटमा कारास्को र ८८ औं मिनेटमा ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई जित दिलाए।
जितपछि एथ्लेटिको २२ खेलबाट ४२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ।
ला लिगाकै अन्य खेलमा भियारियल मालागासँग १-१ को बराबरीमा रोकिदा स्पोर्टिङ गिहोनले लेगानेसलाई २-० ले हरायो।