इलाम : इलाम नगर क्षेत्रका छ दर्जनभन्दा बढी होटल तथा रेस्टुराँमा १७ जना बालबालिका जबर्जस्ती श्रममा लगाइएको भेटिएका छन्।
जिल्ला बालकल्याण समितिको संयोजनमा नगर क्षेत्रमा रहेका ७९ वटा होटल तथा रेस्टुराँमा गरिएको अनुगमनमा १४ वर्ष माथि र १८ वर्षमुनि उमेर भएका १७ जना बालबालिका बालश्रमिकको रूपमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए।
दुई जना १४ वर्षमुनिका बालबालिका समेत श्रमिकको रूपमा रहेको पाइएको छ। चौध वर्षमुनिका बालबालिकालाई बालश्रमिकको रूपमा लगाउन नहुने भए पनि उनीहरू आफन्त कहाँ बसेको र विद्यालय समेत जाँदै गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। यस्तै १५ जनामध्ये सात जना बालक र आठ जना बालिका बालश्रमिकको रूपमा काम गर्दै आएका छन्।
बालश्रम निषेध तथा नियमित गर्ने ऐन २०५६ ले १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध ठानेको छ। ऐनमा १४ देखि १८ वर्षका बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नपाइने व्यवस्था गरेको छ। तर त्यसको बेवास्ता गर्दै इलामका अधिकांश होटल तथा रेस्टुराँमा बालश्रमिक राख्ने गरेको पाइएको हो। यदि ललाइफकाइ काममा लगाए काममा लगाउनेलाई एक वर्ष कैद र रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ।
जिल्ला सदरमुकामका मात्र होइन नेपालटार, तीनघरे, फिक्कललगायतका बजार क्षेत्रमा होटल तथा निर्माणको क्षेत्रमा श्रमिक बालबालिका धेरै रहेको जिल्ला बालकल्याण समितिले जनाएको छ। रासस