काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार आगामी वैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताएका छन्।
छैटौं विश्व रेडियो दिवस कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, 'संघीयताको मर्मलाई बुझ्ने सन्दर्भमा हामीकहाँ निकै ठूलो वैचारिक अन्तर रहेको छ, जनताको दैलोमा अधिकार लैजाने, उत्पीडितहरुलाई आत्मसम्मानको अनुभूति गराएर राष्ट्रिय एकता कायम गर्ने संकल्पमा हामी लागेका छौँ।'
उनले निर्वाचनको सवाल संविधान कार्यान्वयनसँग मात्र अन्तरसम्बन्धित नभएको बताए। 'निर्वाचन तल्लो तहमा अधिकारको प्रत्यायोजन गरी सबैलाई पहिचान र अधिकार दिएर सुदृढ राष्ट्रिय एकता हासिल गर्ने र नेपालको स्वाधीनतालाई अझ बलियो पार्ने कुरासँग पनि सम्बन्धित छ, उनले भने।'
वर्तमान सरकार संविधान संशोधन गरी यसको स्वीकार्यता फराकिलो बनाएर आगामी १ वर्षभत्रै तीनै तहको निर्वाचन गर्ने अठोटका साथ अगाडि बढिरहेको उनले बताए।
सामुदायिक रेडियोहरुको भूमिकाबारे प्रकाश पार्दै उनले भने, 'सरकारले तय गरेको लक्ष्यलाई प्राप्त गर्न सामुदायिक रेडियोहरुको महत्त्वपूर्ण भूमिका रहन्छ। सामुदायिक रेडियो सरकार र सामान्य नागरिकबीच सम्वाद स्थापित गर्ने माध्यम हुन्। यसमा यहाँहरुको सकारात्मक सहयोग र सहकार्य रहनेमा विश्वस्त छु।' आगामी वैशाख-जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारीमा साथ दिन म विशेष अपील पनि गर्न चाहन्छु', उनले भने।