
काठमाडौं : देशकै पुँजी व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नरसँग कति नगद छ?
२०७२ चैतमा बुझाएको र हालै नेपाल राष्ट्र बैंकको वेबसाइटमा अपलोड गरिएको सम्पत्ति विवरणअनुसार गभर्नर चिरञ्जीवी नेपालसँग १३ लाख ९४ हजार रुपैयाँ नगद छ।
आफू, श्रीमती सुमन नेपाल र छोरी शुभेच्छा नेपालसँगको सम्पत्ति विवरण उनले राष्ट्र बैंकमा बुझाएका हुन्। उनले जग्गा जमिन, सुन चाँदीदेखि शेयरमा गरेको लगानी समेत सम्पत्ति विवरणमा बुझाएका छन्। यही मितिमा नेपालसँगै दुई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले पनि नेपाल राष्ट्र बैंकमा सम्प्त्ति विवरण बुझाएका छन्।
नगदमा श्रेष्ठ अब्बल
गभर्नर नेपाल, डेपुटी गभर्नर शिवाकोटी र श्रेष्ठ तीन जनामध्ये श्रेष्ठसँग सबैभन्दा बढी तरल सम्पत्ति छ। श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग नगद मात्रै एक करोड ९४ लाख रुपैयाँ छ।
श्रेष्ठले आफू, पिता शेरबहादुर श्रेष्ठ, श्रीमती मुना, छोरा शिजन र शशङ्कसँग भएको नगदको विवरण दिएका हुन्। श्रेष्ठले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गर्दा एक करोड ६ लाख रुपैयाँ नगद प्राप्त गरेका थिए।
अर्का डेपुटी गभर्नर शिवाकोटीसँग भने ११ लाख ३० हजार रुपैयाँ नगद छ। शिवाकोटी र श्रेष्ठले विदेशी मुद्राको खाताको विवरण पनि बुझाएका छन्। ती खाताध्ये शिवाकोटीको खातामा आठ हजार पाँच सय डलर र श्रेष्ठको खातामा ४४ डलर छ।
शेयरमा पनि श्रेष्ठ अघि
गभर्नर नेपालसँग तीन जनाको नाममा जम्मा ९८५ कित्ता शेयर छ तर शिवकोटीसँग भने ५१ हजार र श्रेष्ठसँग ६६ हजार कित्ता शेयर छ। शिवाकोटीको शेयर उनी आफु, श्रीमती कमलाकुमारी ओझा र तीन बच्चा समीक्षा, सलुजा र स्वस्तिकाको नाममा किनेका छन्।त्यस्तै शिवराजको भने आफू, पिता शेरबहादुर, श्रीमती मुना र दुई छोराको नाममा शेयर छ। शिवाकोटीसँग बैंकसँगै जलविद्युत कम्पनी र बीमाको शेयर पनि छ भने श्रेष्ठको परिवारसँग भने बैंक तथा वित्तीय संस्थाको मात्रै शेयर छ।
त्यसैगरी श्रेष्ठको परिवारले राष्ट्रिय र नागरिक बचतपत्रमा गरी ४० लाख रुपैयाँ लगानी गरेको छ।
शिवाकोटीलाई सहकारी, श्रेष्ठलाई फाइनान्स प्यारो
त्यसैगरी उनले स्टार बहुउद्देशीय सहकारी विराटनगरमा ६० हजार रुपैयाँ निक्षेप राखेका छन्।
उता श्रेष्ठले भने आफ्नो निक्षेप न्युरोडको जेबिल्स र कमलपोखरीको गुडविल फाइनान्समा राखेका छन्। उनले यी दुई वटा फाइनान्समा ६२ लाख रुपैयाँ निक्षेप राखेका छन्।
नेपाल दिन्छन् साथीभाइलाई ऋण
गभर्नर नेपालले साथीभाई तथा आफन्तलाई ऋण दिएका छन्। सम्पत्ति विवरणअनुसार नेपालले २०६५ वैशाखपछि २५ लाख रुपैयाँ साथीभाइलाई ऋण दिएका छन्। ऋण दिनमा शिवाकोटी पनि उदार देखिन्छन्। उनले पनि पाँच जनालाई २७ लाख रुपैयाँ ऋण दिएका छन्।शिवाकोटीले कसलाई कति रुपैयाँ ऋण दिएको हो खुलाए पनि नेपालले भने एकमुष्ट ऋण दिएको भनेर विवरण सार्वजनिक गरेका छन्। शिवाकोटीले ऋण मात्रै दिएका छैनन् ऋण पनि लिएका छन्। उनकी श्रीमतीले बैंक कर्मचारीको हैसियतमा पाउने २७ लाख रुपैयाँ ऋण लिएकी छन्।
श्रेष्ठले भने ऋण पनि दिएका छैनन्, ऋण पनि लिएका छैनन्। त्यसैगरी नेपालसँग पनि ऋण तिर्नुपर्ने कुनै दायित्व छैन।
शिवाकोटीसँग चाँदीभन्दा सुन धेरै
डेपुटी गभर्नर शिवाकोटीसँग ४७ तोला सुन छ तर उनीसँग ४० तोला मात्रै चाँदी छ। शिवाकोटीसँग हिराको कुनै गहना पनि छैन्। तर गभर्नर नेपालसँग भने ४० तोला सुन, तीन सय तोला चाँदी र हिराको गहना छ।डेपुटी गभर्नर श्रेष्ठसँग भने ६२ तोला सुन छ भने छ सय तोला चाँदी छ। त्यसैगरी उनीसँग पनि हिराको औंठी, टप र लकेट छ।
नेपालसँग घर छ तर भाडामा बस्छन्
गभर्नर नेपालसँग ललितपुरमा पाँच आनामा बनेको अढाई तले घर छ। त्यसैगरी ललितपुरमै १३ आना जग्गा पनि छ। तर उनी आफू भने अहिले बालुवाटारमा नेपाल राष्ट्र बैंकले भुक्तानी गर्ने गरी घर भाडा लिएर बसेका छन्।
श्रेष्ठसँग काठमाडौंको बालाजु र धापासीमा दुई वटा अढाई तले घर छ भने उनीसँग धापासीमा छुट्टै जग्गा पनि छ।
उता शिवाकोटीसँग पनि काठमाडौंमा सात आनामा बनेको घर छ। त्यसैगरी काठमाडौंमा १४ आना, भक्तपुरमा ११ आना र मोरङमा आठ कठ्ठा जग्गा छ।
गभर्नरसँग गाडी छ, डेपुटीसँग मोटरसाइकल
सम्पत्ति विवरणअनुसार गभर्नर नेपालसँग हुण्डाईको आई टेन गाडी छ। उनले यो गाडी २०६६ मा किनेका हुन्। उता दुवै डेपुटी गभर्नरसँग भने मोटरसाइकल छ।शिवाकोटीसँग २०६६ मा किनेको होन्डा साइन मोटरसाइकल छ भने श्रेष्ठसँग २०५२ मा किनेको हिरोहोण्डा मोटरसाइकल छ। शिवाकोटीसँग हिरोहोन्डाको २०६५ मा किनेको प्लेजर स्कुटर पनि छ।