
काठमाडौँ : स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ। छलफलमा सहभागीहरुले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने सुझाव दिएका छन्।
सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको छलफलमा सहभागी नेकपा (माओवादी केन्द्र) का सांसद् एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले स्थानीय तहको सङ्ख्या केही बढाएर जाँदा नै गुनासा सम्बोधन हुने बताए। स्थानीय तह पुनःसंरचना आयोगले अधिकतम् ७४४ स्थानीय तह हुन सक्ने भनेको जानकारी गराउँदै उनले भने, 'हाल ७१९ स्थानीय तह सिफारिस गरिएको छ। २ नं प्रदेशका जिल्लामा केही सङ्ख्या थप गरौँ, सङ्ख्या थपेर जानु नै उपयुक्त हुन्छ।'
कांग्रेसका सांसद एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले स्थानीय तह र वडामा जनसङ्ख्या एकरुपता नदेखिएको बताउँदै जनसङ्ख्यालाई मुख्य आधार बनाइनुपर्ने बताइन्।
छलफलपछि समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचनाबारे जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग छलफल गरेर सुझाव दिन आग्रह गरिएको बताए। सबै राजनीतिक दलका सांसदसँग छलफल गरी सुझाव पेस गर्न सांसद् पद्मनारायण चौधरीलाई संयोजकको जिम्मा दिइएको छ।
प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गर्न गठित समितिले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसद्लाई छलफलका लागि खबर गरे पनि प्रमुख प्रतिपक्षी र सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका सांसद् भने उपस्थित भएनन्।