
त्यो दिन अमेरिकी न्युज एजेन्सी एपीको टर्कीको राजधानी अंकारास्थित कार्यालयमा काम गर्ने बुर्हान ओज्बिलिसीलाई नजिकै हुन लागेको फोटो प्रदर्शनीमा आउन आधिकारिक निम्तो थिएन।
रुसका राजदूतले उद्घाटन गर्न लागेको छ फोटो प्रदर्शनी भन्ने पनि उनलाई थाहा थिएन।
एक जना साथीले उनलाई त्यता भेटौँ भनेको भरमा उनी अफिसमा एडिट गरिरहेको काम छाडेर त्यता लम्किएका थिए। संयोगले नै उनी घटनास्थलमा पुगेका थिए।
उनी त्यहाँ पुग्दा कार्यक्रम सुरु भएको १५ मिनेट जति भइसकेको थियो। सुरुमा उनी तीन चार लहर मान्छेभन्दा पछाडि नै थिए। रुसी र टर्कीका फोटोग्राफरहरुले आफ्ना कामहरु बारे बताउँदै गरेको उनी सुन्दै थिए।
यत्तिकैमा कसैले रुसी राजदूत एन्ड्रे कार्लोभले भाषण गर्ने बतायो। उनी भन्छन्- 'म सँधै आफ्नो क्यामेरा र ल्यापटप बोकेर हिँड्छु। ताकि कुनै पनि ठाउँबाट काम गर्न सकूँ। टर्कीमा रात दिन नभनी काम गरिरहनुपर्ने हुन्थ्यो। त्यसैले म राजदूतको फोटो खिच्न अलि अगाडि पुगेँ। त्यतिबेला मैले सोचेको थिएँ एपीले यो फोटो टर्की- रुस सम्बन्धको बारेमा समाचार आउँदा प्रयोग गर्न सकिन्छ।'
'उनी शान्तपूर्वक नरम रुपमा बोल्दै थिए। छिनछिनमा रोकिँदै अनुवाद गर्नेहरुलाई समय दिँदै। मलाई याद छ उनले मेरो मातृभूमि वा त्यस्तै केही भनेका थिए।'
अचानक उनले गोली चलेको आवाज सुने। निकै ठूलो। मान्छेहरु डराएर भागाभाग गरिरहेका थिए। र राजदूतको शरीर भूइँमा लडेको थियो। बन्दूकधारीले आफ्नो बायाा हात उठायो, औँला तेर्स्यायो र दुई पटक चिच्यायो- अल्लाहु अकबर, अल्लाहु अकबर।
'मैले रगत देखिनँ जुन अचम्मलाग्दो थियो। तर पछि मैले याद गरेँ, राजदूतलाई पछाडिबाट गोली लागेको थियो। बन्दूकधारी र मेरोबीचमा कोही पनि थिएन। ऊ के के भनेर चिच्याउँदै थियो मैले बुझ्न सकिनँ। मैले सोचेँ रुसी भाषामा बोलेको होला। तर पछि थाहा पाएँ कि यो त उनको समूह अल नुस्रा फ्रन्टको नारा रहेछ। यो समूह सिरियामा लडिरहेको रहेछ।
'उसले अल्लाहु अकबर भनी चिच्याउँदा उनी डराएका थिए उसँगै अरु पनि छन् कि जसले अरु निर्दोषलाई गोली हान्न सक्छन्। मान्छेहरु चिच्याइरहेका थिए। तर जब मैले बन्दूकधारीहरुले मानिसहरुलाई हल छाडेर जा भन्न थाले तब मैले केही सुरक्षित महसूस गरेँ।'
उ चिच्याइरहेकै थियो मैले उसको शब्दमा ध्यान नदिई उसको मूभमेन्टहरुमा ध्यान दिन थालेँ। विश्लेषण गर्न थालेँ उसले हामीलाई गोली हान्छ कि हान्दैन। ऊ अलि टाढा पुगेपछि मैले उसको फोटो खिच्ने राम्रो पोजिसन भेट्टाएँ। उ राजदूतको लाश वरपर घुम्यो र क्लोजरेन्जबाट अर्को एक गोली हान्यो। ऊ निकै क्रुद्ध देखिन्थ्यो। उसले भित्तामा रहेका केही फोटोहरु च्यात्यो र भूइँमा फ्याँक्यो। त्यसपछि फेरि हामी नजिकै आएर बन्दूक तेर्स्यायो।
त्यतिबेला म निकै डराएको थिएँ अब यसले गोली हान्छ। त्यसैले म धेरै चलिरहेको थिइनँ। म निकै शान्त थिएँ किनभने भाग्नु समस्याको समाधान थिएन। भाग्नु सुरक्षित थिएन। म मरेकै भए पनि केही फोटो त बन्थ्यो।
त्यसपछि सुरक्षा गार्डले सबैलाई बाहिर जान आदेश दियो। यत्तिकैमा उनले उनका साथी अन्कारा रिपोर्टर सुजान फ्रेजरलाई फोन गरे। लगत्तै लन्डन फोटो सम्पादक टोनी हिक्सलाई फोन गरेर रुसी राजदूतलाई गोली हानिएको बताए। उनले सोधे, फोटो छ?
मैले आफ्नोबारे स्पष्ट बताएको थिइनँ। मैले भनेँ, टोनी, म त्यहीँ थिएँ। उनले तुरुन्तै म सुरक्षित भएको नभएको सोधे। मैले डराउनु पर्ने केही नभएको बताएँ र म अफिस गएर एडिट गरी फोटो पठाउने बताएँ।
त्यो फोटो एपीले फेसबुक र ट्विटरबाट सार्वजनिक गर्यो। फेसबुकमा छोटो समयमा नै त्यो फोटो एक करोड ८० लाख पटक हेरियो।
यही फोटोले यो वर्षको वर्ल्ड प्रेस फोटो अवार्ड जित्यो। त्यहीँका फोटोहरु सिरिजले स्पट न्युज स्टोरीज क्याटेगोरी अवार्ड पनि जित्यो।
(बुर्हान ओज्बिलिसीले वर्ल्ड प्रेस फोटोसँग गरेको कुराकानीमा आधारित)