
काठमाडौः गैर पत्रकारलाई सदस्यता दिएको भन्दै नेपाल प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। राजनीतिक आस्थाको आधारमा क्रियशील पत्रकारलाई सदस्यता नदिई विधान विपरीत अधिवेशन गर्ने शड्यन्त्र गरेको भन्दै युनियन अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा गएको टोलीले महसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो।
वार्ताबाट समस्या समाधानको पहल गर्दा महासंघ नेतृत्व गैर जिम्मेवार भई सम्पर्कबाहिर गएको भन्दै युनियन नेतृत्वले महासंघमा तालाबन्दी गरेको हो।
महासंघमा भएका अनियमितता र अपारदर्शी कामलाई सच्याउन माग गर्दा गर्दै महासंघ नेतृत्वले हेपाहा शैलीमा अधिवेशन सुरु गरेकाले तालाबन्दी गर्न बाध्य भएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले बताए।
सदस्यता विवाद नभएका शाखामा समेत केन्द्र आफैले सदस्य थपेर पठाएर विवाद बढाएको र गैर नेपाली नागरिकलाई समेत सदस्यता दिएको उनले दाबी गरे।
महासंघ नेतृत्वले पत्रकारहरुको छाता संस्थाभन्दा पनि अमुक पार्टी कार्यकर्ताको भूमिका निर्वाह गरेको, पार्टी विशेषका कार्यकर्तालाई केन्द्रबाटै हुकुमी शैलीमा सदस्यता वितरण गरेको, प्रहरीलगायत अन्य सेवामा रहेका पूर्वपत्रकारलाई समेत सदस्यता बाँडेको युनियनको दाबी छ।
'महासंघको नयाँ तथा नवीकृत सदस्यताको टुङ्गो लगाउने सन्दर्भमा महासंघ नेतृत्वले गरेका अनेक अनियमितताका फेहरिस्त उजागर भइरहेका छन्,' युनियनका अध्यक्ष सिग्देलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गैर नेपाली नागरिकलाई दिएको सदस्यता स्वीकृत गर्नेदेखि महासंघका विधि प्रक्रिया र अभ्यासहरुलाई लत्याएर दल विशेषका कार्यकर्ताहरुलाई सदस्यता दिने र नवीकरण गर्ने कामप्रति असहमति जनाउँदै संस्थागत र व्यक्तिगत रुपमा महासंघ नेतृत्वलाई अवगत गराउँदा गराउँदै त्यसलाई लत्याएर महासंघको अधिवेशनमा जाने कुराले महासंघको हेपाहा प्रवृति उजागर भएको छ।'
युनियनले सदस्यता कसलाई दिइयो र कस्ले प्राप्त गरिरहेको छ भन्ने सामान्य जानकारी महासंघकै केन्द्रीय समितिका सदस्यहरुलाई समेत नहुनु महासंघको नेतृत्वको तजविजी र विधि प्रक्रिया र अभ्यासमाथिको धावा भएको भन्दै करिब ३ हजार नयाँ सदस्यता थपेर अधिवेशन जाने शैली असहनीय र अशोभनीय भएको उनले उल्लेख गरेका छन्।
युनियनले देशभरका ४० भन्दा बढी शाखामा महासंघको सदस्यतामा भएको अनियमितता, विभिन्न क्षेत्रीय संयोजक र केन्द्रीय समितिका जिम्मेवारहरुले केन्द्रबाटै हुकुमी शैलीमा थपेका सदस्यता र नवीकरण आफूलाई मान्य नभएको बताएको छ।
'विभिन्न जिल्लाबाट निर्णय गरी आएको सदस्यताको विषयलाई समेत महासंघ केन्द्रीय समितिका जिम्मेवार पदाधिकारीहरुबाट जबर्जस्ती विवादित बनाउने कामलाई हामीले महासंघ कब्जाको मानसिकताबाट हेरिएको रुपमा लिएका छौ' विज्ञप्तिमा भनिएको छ।
महासंघका विभिन्न जिल्लामा विवादका कारण स्थानीयस्तरमा पत्रकारहरुले लगाएको तालाबन्दी खुलाउन युनियनले जिम्मेवार पहललाई महासंघ नेतृत्वले नजरअन्दाज गरेको भन्दै थप विवाद बढाउने महासंघलाई युनियनको सहयोग नहुने भन्दै असहयोगको आह्वानसमेत गरेको छ।