काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड समक्ष रंगशाला निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन अवश्यक आर्थिक सहयोग गरिदिन माग गरेको छ। सोमबार एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले प्रचण्डसमक्ष उक्त माग पत्र पेश गरेका छन्।
गत बर्ष २०७२ बैशाख १२ गतेका दिन देशमा गएको महाभुकम्पका कारणले देशको एक मात्र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको दशरथ रंगशाला समेत क्षत्रीग्रस्त भएसँगै त्यहाँ हुने फुटबल गतिबिधि समेत शुन्य अवस्थामा पुगेको कुरा जानकारी गराउनका साथै नेपालमा अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्ने अवसरहरु समेत गुमाउन पुगेको उक्त पत्रमा उल्लेख छ।
साथै एसियन कप छनोट चरणको महत्वपूर्ण प्रतियोगितामा सहभागी तथा आयोजना समेत गर्न ज्यादै ठूलो धनराशीको आवश्यकता हुने भएकोले ६ वटा खेल खेल्ने क्रममा लाग्ने तयारी, खेल्न जाँदा लाग्ने अवाई भाडाको खर्चसमेत गरी कूल २ करोड लाग्ने र यसका लागि नेपाल सरकारबाट आर्थि सहयोगको अपेक्षा गरेको श्रेष्ठद्धारा लिखित पत्रमा उल्लेख छ।
एन्फाको मुख्य आयश्रोत भन्नु नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरी उठेको गेट टिकटको रकम भएको र पछिल्लो २२ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरु आयोजना गर्न नपाएको कारणले गर्दा कुनै आम्दानीहरु समेत नभएको तथा संघसमेत आर्थिक रुपले कमजोर भएको उल्लेख छ।