PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

हतारमा नियमावली संशोधन गरेर प्राविधिक एआइजीलाई निमित्त आइजीको जिम्मेवारी



सविन ढकाल

हतारमा नियमावली संशोधन गरेर प्राविधिक एआइजीलाई निमित्त आइजीको जिम्मेवारी

काठमाडौं : नेपाल प्रहरीको रिक्त प्रमुखको विवाद सल्टाउन सरकारले नेपाल प्रहरी सम्बन्धी नियमावली संशोधन गरेर प्राविधिक तर्फका एआइजी दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ।

सोमबार बेलुका प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमावली संशोधन गर्दै एक पटकका लागि प्राविधिकतर्फका एआइजीलाई निमित्त प्रमुख दिने बाटो खुलाएको महिला तथा बालबालिका मन्त्री कुमार खड्काले बताए।

प्रहरी नियमावलीमा प्राविधिकतर्फका अधिकृतलाई निमित्त दिन मिल्ने या नमिल्ने केही उल्लेख छैन। तर प्राविधक प्रहरीको नियमावलीमा भने प्राविधक प्रहरीको माथिल्लोतहको पद एआइजी सम्म मात्रै हुने उल्लेख गरेर आइजीपी हुने बाटो रोकेको थियो।

३ वर्ष अगाडि एआइजी नियुक्त नहुँदा आइजीपी उपेन्द्रकान्त अर्यालले प्राविधिकतर्फका एआइजी रामनाथ सिंहलाई निमित्त दिँदा नियमावली संशोधन भएको थिएन।

तर सरकारले आइजीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेसँगै प्रहरीबारे सर्वोच्च अदालतमा रिट पर्ने क्रम शुरु भएपछि निमित्तको विषयसमेत अदालत पुग्नसक्ने देखेर सरकारले बैठकमार्फत् हतारमा नियमावली संशोधन गरेर कानुनी व्यवस्था नै गरेको हो।

निमित्त पदमा आइजीले नियमित काम गरे पनि उनको पद एआइजीनै रहन्छ र उनको सेवा सुविधा एआइजीसरह नै हुन्छ। प्रहरी नियमावली २०७१ अनुसार कायममुकायम नियुक्त गर्ने अधिकार सरकारको हो । निमित्त र कार्यवाहक प्रहरी प्रमुखले नै तोक्नसक्ने कानुनी प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell