
काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगमा प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाई आज गर्दैछ। विशेष समितिले आयुक्तको सुनुवाईका लागि दिउसो १ बजे बैठक बोलाएको छ। प्रस्तावित तीनै जना आयुक्तको सुनुवाई हुनेछ ।
यसअघि सोमबार समिति सचिवालयले आयुक्तबिरुद्ध परेका उजुरी समितिमा पेश गरेको थियो। प्रस्तावित तीन आयुक्तमध्ये सुधीरकुमार शाहबिरुद्ध मात्र एक उजुरी परेको छ । शाहबिरुद्ध बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिका नाममा दर्ताका लागि मतियार बनेको आरोप लागेको छ। अन्य दुई आयुक्तमाथि उजुरी परेको छैन।
संवैधानिक परिषद्ले माघ १४ गते निर्वाचन आयोगमा रिक्त तीन आयुक्त सिफारिस गरेको थियो। परिषद्ले पूर्वसचिवद्धय इश्वरीप्रसाद पौड्याल र नरेन्द्र दाहाल तथा पूर्व–सहसचिव शाहलाई आयुक्तमा सिफारिस गरेको थियो।
परिषद्को निर्णय अनुसार माघ १९ गतेबाट समितिले सुनुवाई प्रक्रिया अघि बढाएको थियो। तीनै जना आयुक्तबिरुद्ध दश दिनको समय दिएर समितिले उजुरी आह्वान गरेको थियो।
अहिले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र एक आयुक्त छन्।