PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

​४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया नेपाली, सँगै पढ्छन् नाति–बज्यै



पहिलोपोस्ट

​४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया नेपाली, सँगै पढ्छन् नाति–बज्यै

  • प्रकाश धौलाकोटी 
तेह्रथुम : ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बनेकी छन्। पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दैछिन्। 

एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दैछिन्। उनी भन्छिन् ‘पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु।’ लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको भनाइ छ। 

‘सही गर भनेर लगाउँछन, आफूलाई आउँदैन’ उनी भन्छिन् ‘हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ भन्ने शङ्का पनि हुन्छ।’
उनलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ। उमेरमा पढ्न नपाएको प्रति उनलाई पछुतो छ। सुरुमा प्रौढ कक्षा जानुभएकी सानुमाया अहिले विद्यालय जान थालेकी हुन्। 

‘गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घन्टामा केही सिकिएन’, उनले भनिन् ‘त्यही भएर विद्यालय नै जाऊ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ।’ कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने, तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उनले बताइन। सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानध्यापक हरिप्रसाद लामिछाने बताउछन्। 

त्यसो त देख्नेलाई पनि अचम्मै लाग्ने गरी सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहन्छिन। तर कतिपय उनी आफू पढ्नभन्दा पनि नातिलाई पु¥याउन गएको भन्ने सोच्छन्।
सानुमायाका तीन भाइ छोरा छन् । उनीहरुको विवाह भइसकेको छ । अहिले उनको काम घरमा बस्ने, बिहान बेलुका खाना पकाउने मात्रै हो । ‘छोराहरु हुर्किए, छोरीहरुको विवाहदान गराएँ, नाति पनि पढ्दैछन’, उनी भन्छिन् ‘तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।’ 

स्कुल जान थालेपछि उनलाई अहिले साउँ अक्षरसँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उनको मेहनतले उनलाई छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारीले बताए। ‘भर्ना भएको चार महिनामै कक्षा १ मा पुगेकी हुन, उनको मेहनत अहिले पनि राम्रो छ, उत्सुक छिन्’ भण्डारीले भने। 

उनलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ। दुर्गम गाउँका महिलालाई समूहमा आबद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान पुरानागाउँमा चलिरहेको छ। सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गरेकी छन्। यहाँको आदर्श अभियान चौतारीमा हरेक महिनाको दुई पटक अधिकारबारे छलफल हुन्छ। 

चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकारलगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुशीला मग्राँतीले बताइन्। ‘अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ’, स्थानीय सामाजिक परिचालक सीता निरौलाले भनिन्। 

गाउँका महिलामध्ये अधिकांश निरक्षर छन् तर इच्छा हुनेले साक्षर बन्न चाहे चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उनले बताइन्। जिल्लालाई हाल पूर्ण साक्षर बनाउने अभियान समेत चलिरहेको छ। जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रमार्फत पूर्ण साक्षर बनाउने अभियान चलाइरहेको छ। 

‘निरक्षरलाई साक्षर बनाउन गाउँ गाउँमा प्रौढ कक्षा सञ्चालन भइरहेका छन्’ जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले भने। उनले इच्छाशक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताए। ‘ज्ञान कहिल्यै बूढो हुँदैन’ उनले भने ‘त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन।’ रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell