
काठमाडौं: बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुले सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ। संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) ले सम्पति विवरण सार्वजनिक गर्न अनिवार्य गरेको हो।
वाफिया राष्ट्रपतिबाट प्रमाणीकरण हुन मात्र बाँकी छ। बाफियाको दफा १२० मा सञ्चालक, पदाधिकारी र कार्यकारी प्रमुखले सम्पति विवरणको सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
उनीहरुले आफ्नोवाहेक आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पूर्ण सम्पति तथा दायित्वको विवरणसमेत सार्वजनिक गर्नुपर्ने छ। उनीहरुले आर्थिक बर्ष सकिएको ६० दिनभित्र अर्थात भदौ मसान्तभित्र विवरण सार्वजनिक गर्नुपर्छ।
सञ्चालक र प्रमुख कार्यकारीले सम्पति विवरण राष्ट्र बैंकमा बुझाउनुपर्छ। विवरणमा आयको स्रोतसमेत खुलाउनुपर्छ।
राष्ट्र बैंकले अहिलेकै कानुनअनुसार कर्मचारीले पनि विवरण बुझाउनुपर्ने निर्देशन दिइसकेको छ। तर राष्ट्र बैंकमा बुझाउने विवरण कहाँ राखिन्छ, कुन प्रयोजनमा प्रयोग गरिन्छ, केही पनि उल्लेख छैन।