PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

कथा : मायाको चिनो



पहिलोपोस्ट

कथा : मायाको चिनो

  • लक्ष्मीप्रकाश पौड्याल
'सरोज, भोलि बेलुकीपख सिटी सेन्टरको कफी कर्नरमा भेटौँ है। भोलि सबैले कुनै न कुनै रूपमा रमाइलो गर्छन्, हामी कफीमा नै रमाइलो खोजौँला। बहाना नबनाऊ है।'
 
'सरू, त्यसको कुनै आवश्यकता छैन। तिमीलाई नै थाहा छ, म भोलि त्यति अनुकूलमा पनि हुन्न होला। पछि कुनै दिन बसेर कफी पिउँला, हुन्न? हामीबीच साथीको सम्बन्ध छँदैछ, हामीलाई भेट हुन भेलेन्टाइन्स् डे नै किन चाहियो र?'
 
'सरोज तिमी सधैँ यस्तै बाठा कुरा गर्छौ। जे भए पनि भोलि अपरान्ह ५ बजेतिर सिटी सेन्टरमा भेट गरौँ। म तिमीलाई त्यहीँ कुरिरहन्छु है। कम से कम भोलिका दिनको एकघण्टा मेरा लागि छुट्याइदेऊ, नत्र मेरो मन दुख्ने छ।'

'म कोसिस गर्छु नि त।'

'कोसिस होइन सरोज, पक्का आऊ है । नत्र म ...'

'के नत्र म ?'

'नत्र म सबैका अगाडि रोइदिन्छु।'

'अहिल्यै कि भोलि?'

'धेरै नौटङ्की नगरी आऊ। अहिलेलाई म हिँडेँ।'
 
पिके क्याम्पसको गेटका अगाडि भेटिएका शर्मिला र सरोज बाटोमा नै उभिएर केहीबेर कुरा गरी आ–आफ्नो गन्तव्यतिर लागे। शर्मिला पुतलीसडक हुँदै विशालनगरतिर लागी भने सरोज मेरो टेलर्समा सिउन दिएको नयाँ पाइन्ट लिएर तीनकुनेतिर लाग्यो।
 
‘प्रेरणासँगको मेरो मानसिक सम्बन्धका बारेमा शर्मिलालाई धेरै कुरा थाहा छ। मैले भोलि प्रेरणालाई समय दिनुपर्छ भन्ने कुरा पनि उसलाई थाहा छ। यो सबै जानकारी हुँदाहुँदै पनि उसले भोलि नै भेट्न किन यति धेरै आग्रह
गरी?’ निवास पुगेर सरोजले सोच्यो ‘ऊ सुरूदेखि नै मलाई एउटा साथीका रूपमा राम्रो व्यवहार गर्थी। तर एउटा साथीसँग चियाकफी खानलाई भेलेन्टाइन्स् डे नै चाहिन्छ र?’ सरोज पुनः सोचमग्न बन्यो। केहीबेर सोचेर उसले निर्णय निकाल्यो– ‘ठिकै छ, भेलेन्टाइन्स् डेका दिन एउटा साथीका रूपमा कसैलाई भेटेर चियाकफी पिउनु नै हुँदैन भन्ने पनि त छैन नि ! के पो बिग्रिएला र?’ सरोजले शर्मिलालाई निराश बनाउन चाहेन तर यो प्रसङ्ग प्रेरणालाई चाहिँ नभन्ने निर्णय गर्‍यो। ‘केटीहरू ईर्ष्यालु हुन्छन्, किन टेन्सन लिने?’ उसले मनमनै सोच्यो।
 
प्रेरणासँगको भोलिको भेलेन्टाइन्स् डेटिङलाई कसरी अविस्मरणीय बनाउने र सरप्राइज गिफ्ट के दिने? कहाँकहाँ घुम्न जाने? आदि योजना बनाउँदै समय बितिसकेको सरोजले पत्तै पाएन। ऊ राती १२ बजेतिर मात्र सुत्यो।
 
सिटी सेन्टरमा पुग्दा सरोजलाई केही विलम्ब भइसकेको थियो। यसैबीच धेरै पटक शर्मिलाको मिसकल पनि आइसकेको थियो। प्रेरणाले सरोजको मोबाइल खेलाइरहेको बेला पनि शर्मिलाको फोन आएको थियो तर उसले शर्मिलाको नाम राम पोखरेल भनेर राखेकोले मात्र ऊ बाँचेको थियो। प्रेरणाको जिज्ञासामा सरोजले भनेको थियो 'रामलाई भ्यालेन्टाइन्स् डे मनाउने पैसा भएन भनेर मसँग सापटी मागेर दिक्क लगाइसक्यो। उसले लगेपछि तिर्न जानेको छैन। त्यसैले उसको फोन नउठाएको हो। तिमी पनि नउठाऊ, नत्र तिम्रो माध्यमबाट उसले मलाई दबाब दिने छ।' सरोजले व्यवहारिक बहाना बनाएको थियो। प्रेरणाले प्रतिक्रिया जनाई 'ठिकै गरिस्यो, तिर्न नजान्नेलाई किन दिने त? साथीको सम्बन्ध मात्र बिगार्छ।'
 
'हो नि त !' आफ्नो बचाउ गर्न सकेकोमा सरोज मख्ख परेको थियो।
 
शर्मिला कफी कर्नरमा बसेर उसैको प्रतीक्षा गरिरहेकी थिई। उसलाई कुर्न शर्मिलालाई कति बोर भयो होला तैपनि कुनै गुनासो गरिन। बरू सरोजको उपस्थितिमा नै ऊ रमाइदिई। उसको सरलता देखेर सरोजलाई माया पनि लाग्यो।
 
'तिमी त बिजी मान्छे, आउँदैनौ कि जस्तो पो लागेको थियो। मेरा लागि आइदियौ, थ्याङ्क्यु सो मच सरोज।' शर्मिलाले कुर्सीबाट उठेर हार्दिकतापूर्ण ढङ्गले अङ्कमाल गरी, मानौँ सरोज नै उसको वास्तविक भेलेन्टाइन हो। अँगालोमैँ बाँधिएको अवस्थामा शर्मिलाले भनी 'आई लव यु सरोज !'
 
शर्मिलाको भावपूर्ण बोलीले सरोज तरङ्गित बन्यो। यो अवस्थामा उसले के भन्ने? लव त यो एक प्रकारले लव नै हो नि। लव नभएको भए प्रेरणालाई छलेर ऊ यहाँ किन आउँथ्यो र? तर यो लव बिहे वा यौनसँग जोडिएको थिएन, केवल एउटा हार्दिकतापूर्ण मित्रतामा सीमित थियो। अरू बेला भनेको भए पनि सामान्य रूपमा लिन सकिन्थ्यो होला, तर आज भ्यालेन्साइन्स् डे भएकोले आज बोलिने हरेक शब्दको विशेष अर्थ खोज्न सकिन्थ्यो। लवका विविध पक्षबारेमा सोचेर सरोज केही बेर अलमलियो। अन्ततः उसले पनि भनिदियो 'लव यु टू सरू!'
 
कफी कर्नरका अरू मान्छेहरूले उनीहरूको हार्दिकतापूर्ण व्यवहारलाई कसरी मूल्याङ्कन गरिरहेका होलान् भन्ने चेतनाले सरोज केही असजिलो मान्दै शर्मिलाको सामुन्नेको कुर्सीमा बस्यो। सामान्य कुरा हुँदै गर्दा कफी आइपुग्यो। कफीको पहिलो चुस्की लिएपछि शर्मिलाले आफ्नो हाते ब्यागबाट एउटा कलात्मक बट्टा निकाली र सरोजतिर बढाउँदै भनी 'सरोज, धेरै औपचारिक नभई यो मेरो एउटा सानो उपहार स्वीकार गरिदेऊ है। मलाई थाहा छ, आजको दिन यो मेरो प्रेमोपहार लिन तिमीलाई केही सङ्कोच लाग्न पनि सक्छ। प्रेमोपहार नसही, यसलाई हार्दिकताको प्रतीक मानेर भए पनि मेरो मनको खुसीका लागि यसलाई स्वीकार गरिदेऊ।'
 
शर्मिलाको व्यवहारबाट सरोज चकित बन्यो। आज जे भइरहेको थियो उसको अपेक्षादेखि बाहिरको कुरा थियो। ऊ त शर्मिलाको मन राख्न कफीमा सरिक हुन मात्र आएको थियो, त्यसैले ऊ खाली हात थियो। उसले लज्जित अनुभव गर्दै भन्यो 'सरू, म आभारी छु। म त ...' उसले वाक्य पूरा गर्न सकेन।
 
'धेरै औपचारिक नभई खोलेर हेर त, तिमीलाई मन पर्छ कि पर्दैन।'

'उपहारको मूल्य होइन सरू, दिने मान्छेको हृदय हेरिन्छ। त्यहाँमाथि तिमीले त....' सरोज त्यो कलात्मक बट्टा खोल्न लाग्यो। त्यो बट्टा खोल्नेबित्तिकै सरोजको वाक्य बन्द भयो। बट्टाभित्र ह्वाइट गोल्डले बनेको एउटा सुन्दर औँठी चम्किरहेको थियो। ऊ बिस्फारित आँखाले त्यस औँठीलाई हेर्न लाग्यो।
- - -

दुई वर्ष पहिले युरोपको लामो बसाइपछि नेपाल आएको बेला मधुले ह्वाइट गोल्डको एउटा सुन्दर औँठी सरोजलाई युरोपको चिनो स्वरूप दिँदै भनेकी थिइन् 'सरोज, युरोप अमेरिकामा ह्वाइट गोल्ड धेरै प्रचलित छ। म नेपालमा रहँदा मेरो संस्था सञ्चालनमा तपाईँले धेरै ठूलो सहयोग गर्नुभएको थियो। त्यसैले नेपाल फर्किने क्रममा मेरो चिनोस्वरूप यो सेतो धातु ल्याइदिन मन लाग्यो। यसलाई तपाईले गरेको सहयोगको मूल्य नठान्नोस्, एउटा साथीको सम्झनाको रूपमा लिइदिनु होला।' सरोजले भनेको थियो 'मधुजी, यसको के आवश्यकता थियो र? त्यो त मेरो मानवीय सहयोग थियो। तपाईँले त मैले गरेको सहयोगलाई मात्र सम्झिदिए पनि धेरै हुन्थ्यो। यहाँ त चढिसकेपछि आँफू चढेको सिँडी भुल्नेहरू नै धेरै छन्।'

'कुनै असजिलो नमान्नोस् सरोजजी।'

'धेरै धेरै धन्यवाद मधुजी। म तपाईँको चिनोलाई सम्मानपूर्वक राख्ने छु।'
- - -

प्रेरणासँग सरोजको भावनात्मक सम्बन्ध गाँसिएपछि गतवर्षको भेलेन्टाइन्स् डेका दिन भेलेन्टाइन्स् डेलाई विशेष अविस्मरणीय बनाउन उसले त्यही औँठी प्रेरणालाई उपहार स्वरूप दिएको थियो। प्रेरणासँग उसको बिहे हुने कुरा पनि पक्कापक्की जस्तै भएको थियो। यस पृष्ठभूमिमा मधुको चिनो घरभित्रै रहने ठहर गरी प्रेरणालाई मायाको चिनास्वरूप उक्त विशेष औँठी उपहारस्वरूप दिएको थियो। आज त्यही औँठी शर्मिलाको हातबाट पुनः उपहारस्वरूप पाउँदै थियो ऊ। सरोजका लागि योभन्दा ठूलो आश्चर्य अर्को के हुन सक्थ्यो र? ऊ त्यो औँठी कसरी प्रेरणाको हातसम्म आइपुग्यो भनेर प्रेरणालाई सोध्न पनि सक्तैनथ्यो। आफ्नै औँठी आफैँलाई उपहार! घोर आश्चर्य!!
'सरोज, तिमी किन टोलाएको? कस्तो लाग्यो?' शर्मिलाको बोलीले ऊ झस्कियो।
'तिमीले यति सुन्दर र यति महङ्गो उपहार दियौ शर्मिला, म त रित्तो हात छु। म आफैँलाई तुच्छताबोध भइरहेछ।' वास्तविक कुरा लुकाउँदै सरोजले भन्यो।

'प्लिज सरोज त्यस्तो पातलो कुरा नगर। मैले पनि तिमीबाट धेरै कुरा लिन बाँकी छ, लिँदै गरौँला पनि। जीवन अझै धेरै बाँकी छ। आजै केको हतार छ र? फेरि, उपहार भनेको मानसिक सन्तुष्टिका लागि दिइने कुरा हो, सौदा त होइन नि!'

'तैपनि ....'

'मन पराइदियौ भने मेरा लागि यही काफी हुनेछ। अब यो कुरा बन्द गर र कफी लेऊ, चिसो भइसक्यो।'
 
शर्मिलासँग विदा भएर घर पुगेको सरोजले पत्तै पाएन। उसका मनभरि औँठीका सन्दर्भहरू ज्वारभाटाझैँ उर्लिरहे। प्रेरणालाई एक वर्षअगाडि दिएको औँठी कसरी शर्मिलासम्म पुग्यो? कोठामा पुगेर उसले बट्टामा रहेको औंठी पुनः एकपल्ट नियालेर हेर्‍यो, उस्तै उस्तै देखिने अर्को औँठी पनि त हुन सक्छ भनेर। मधुले उसलाई त्यो औँठी दिनु पूर्व औँठीको भित्रीभागमा मधुको पहिलो अङ्ग्रेजी अक्षर एम कुँदाएकी थिइन्। उसले ‘एम’ अक्षर खोज्यो। त्यहाँ उक्त अक्षर स्पष्ट दृष्टिगोचर हुन्थ्यो। अब कुनै शङ्का रहेन। त्यति महँगो औँठी शर्मिलाले उसलाई उपहारमा किन दिई भनेर भन्दा पनि त्यो औँठी कसरी कुन बाटो भएर शर्मिलासम्म पुग्यो भनेर सरोजको दिमाग गोल चक्करमा फस्यो। ...
...के त्यो औँठी प्रेरणाले पनि मायाको चिनोस्वरूप अरू कसैलाई दिएकी थिइन्? अनि अरू कसैबाट त्यो औँठी शर्मिलाले पाइन् अनि शर्मिलाले....। के प्रेरणाले उसलाई विश्वासघात गरेकी नै हुन् त? सरोजलाई चक्कर आउलाझैँ भयो र उसले त्योभन्दा बढी सोच्न पनि चाहेन। बरू प्रेरणालाई फोन गरेर स्थिति बुझ्ने प्रयास गर्‍यो।

'हेल्लो स्विट हार्ट! सुत्यौ?'

'सुतेकी छैन डियर। हजुरले आज दिएको मायाको चिनो हेरेर बसिरहेकी छु। अब सुत्छु होला। हजुर पनि अहिलेसम्म ...?'
'तिमीबाट छुटेपछि एउटा साथीकोमा गएको थिएँ, भर्खरै मात्र आउँदैछु। त्यहाँ कुरै कुरामा ह्वाइट गोल्डको कुरा आयो। हेर न, उसलाई त ह्वाइट गोल्ड हुन्छ भन्ने पनि थाहा रहेन छ। मैले भोलि देखाइदिन्छु भनेको छु। भोलि त्यो औँठी लिएर बानेश्वरको बेकरी क्याफेमा आऊ ल? म त्यहीँ साथीलाई देखाइदिन्छु। अनि, हामी सँगै कफी पिएर फर्कौँला। तिमीलाई म ड्रप गरिदिन्छु।'
 
सरोजको कुराले एक्कासी प्रेरणाको बोली लक्पकियो। केही कामेको स्वरमा भनी 'सुनिस्योस् न, त्यो त...त्यो त...'

'के भयो डार्लिङ्ग?'

'त्यो त, अस्ति हजुरलाई साथीको बिहेमा झापा जान्छु भनेकी थिएँ नि, हो उही साथीले धेरै मनपराएकीले केही दिनका लागि भनेर छोडेर आएकी छु। पछि कुनै दिन...'

'ए, भइहाल्छ नि स्विट हार्ट। म साथीलाई कुनै बहाना बनाएर टार्ने छु। तिमीले टेन्सन नलिए हुन्छ। बरू अब सुत पनि। भोलि बेलुकीपख तिमी र म मात्र बेकरी क्याफेमा भेटौँला। कफीको बहाना पनि हुन्छ, बिहेको तयारीका बारेमा दुईचार कुराहरू पनि हुन्छन्।' उसले प्रसङ्ग लम्याउन चाहेन।

'ओके माई डियर ! म आउँछु।' उता प्रेरणाले सन्तोषको लामो सास फेरी।
 
आज सरोजको प्रेमको अग्निपरीक्षा थियो। जसलाई उसले भावनात्मक रूपमा जीवन सङ्गिनी बनाइसकेको थियो, उसैबाट विश्वासघात...? त्यसो भए विश्वास कस्लाई गर्ने ...? योभन्दा बढी उसले सोच्नै सकेन।

सरोज बेकरी क्याफेमा पुग्दा प्रेरणा आइपुगेकी थिइन, तैपनि उसले दुईवटा कफी अर्डर दियो। कफी आइपुग्नु अगाडि नै प्रेरणा विशेष रूपमा सजिएर बाटोभरि पर्फ्युमको सुगन्ध छर्दै मन्द मुस्कानका साथ सरोजको टेबलअगाडि आइपुगी र कुर्सीमा बस्नु अगाडि एउटा मिठो मुस्कानका साथ सुमधुर वाणीमा बोली 'लव यु डियर!'

प्रेरणाको ‘लव यु’ आज साह्रै सस्तो लाग्यो सरोजलाई। तैपनि उसले आफ्नो अनुहारलाई बिग्रिन नदिई हँसिलो पाराले प्रेरणाको हाउभाउमाथि एक नजर लगाउँदै भन्यो 'सेम टु यु प्रेरणा!' आज सधैँझैँ उसको मुखबाट ‘स्विट हार्ट’ भन्ने शब्द निस्कन सकेन। सरोजको केही बदलिएको शैलीलाई प्रेरणाले मूल्याङ्कन गर्न भ्याइन।
 
सामान्य कुराकानी हुँदाहुँदै कफी आइपुग्यो। सरोजले प्रेरणाको नजर परोस् भन्ने उद्देश्यले ह्वाइट गोल्डको औँठी लगाएको हातले एक कप कफी प्रेरणाको अगाडि सारिदियो। नभन्दै प्रेरणाका कालो चश्माले छोपेका आँखाहरूले त्यो विशेष औँठी देखिहाले। प्रेरणाको उज्यालो अनुहारमा अचानक बत्ती निभेझैँ कालो पोतियो। केही क्षण अघिसम्म देखिएको उसको मुखको मिठो मुस्कान पलभरमा नै कता बिलायो पत्तै भएन। ऊ बसेकै कुर्सीबाट लडौँ लडौँजस्तै हुनेगरी तरङ्गित भई। उसको कल्पनाको सुन्दर संसार अचानक खसेको परमाणु बमले क्षणभरमा नै ध्वस्त बनाइदिएको थियो। उसलाई अब बचाउका लागि कुनै बहाना बाँकी रहेजस्तो लागेन। सपनाहरू पग्लिएर आँखाको बाटो तपतप गरेर झर्न थाले। रे–बोनको कालो चश्माले उसका आँसुका थोपालाई रोक्न वा छेक्न सकेन। प्रेरणाले आफू पूरै उदाङ्गिएको महसुस गरी। उसले सरोजको आँखामा आँखा मिलाउने हिम्मत जुटाउन सकिन, बरू केही बेर घोसे मुन्टो लगाएर विचारमग्न भइरही। अनि, केही समयको मौन–चिन्तनपछि ऊ आफू बसेको कुर्सीबाट जुरूक्क उठी र क्याफेमा बसेका अरूको उपस्थितिको कुनै वास्ता नगरी निहुरेर सरोजको खुट्टा स्पर्श गर्दै भनी 'मलाई माफ गरिदिनोस् प्लिज, म हजुरको प्रेमप्रति इमानदार बन्न सकिनँ।'
--- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell