PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

गाउँमा ग्यासको प्रयोग बढ्दै



रासस

गाउँमा ग्यासको प्रयोग बढ्दै

  • मीना घोरसाइने
काभ्रे : टुकुचा नाला– ७ घिमिरेगाउँकी सावित्री घिमिरे अहिले धुवाँको समस्याबाट मुक्त छिन्। दाउरा छाडेर ग्यासको प्रयोग गर्न थालेपछि उनले धुवाँको समस्याबाट मुक्ति पाएकी हुन्।
 
'धुवाँको समस्याले खाना पकाउन निकै सास्ती हुन्थ्यो, त्यही भएर ग्यास प्रयोग गर्न थालेकी हुँ,' उनले भनिन्। ग्यासको प्रयोग गर्न थालेपछि श्वासप्रश्वाशसम्बन्धी रोगबाट समेत मुक्ति पाइएको उनको भनाइ छ। ग्यासको प्रयोगबाट उनको समयको समेत बचत हुन थालेको छ।
 
अस्वस्थ भएका समयमा खाना नपाइकनै बस्ने उनले ग्यासको प्रयोग गर्न थालेपछि भोकै बस्नुपरको छैन। घिमिरे दाउरा खोज्न एक घण्टा हिँडेर जङ्गल जान्थिन्। गाउँमा सबैले ग्यासको प्रयोग गर्न थालेपछि उनी पनि ग्यासप्रति आकर्षित भएकी हुन्।
 
स्थानीय अनिता घिमिरे दाउरा बालेर खाना पकाउँदा टाउको दुख्ने समस्या देखा परेपछि उक्त समस्याबाट छुटकारा पाउन ग्यासको प्रयोग गर्न थालेकी हुन्। गाउँमा ग्यासको प्रयोग गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ। एक त सुविधाको हिसाबले पनि गाउँका बासिन्दा ग्यासको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् भने जङ्गलबाट दाउरा ल्याउदा लाग्ने ढुवानी खर्चको दाजोमा ग्यास किन्न सस्तो पर्छ।
 
'जङ्गलबाट दाउरा ल्याउन एक पटकमा कम्तीमा रु १५ हजार खर्च हुन्छ। उक्त दाउरा दुई महिनालाई पनि पुग्दैन,' घमिरेले भनिन्। एक महिनालाई पुग्ने दाउरा किन्ने खर्चले एक वर्षभन्दा बढी समयलाई पुग्ने यास किन्न सकिने घिमिरेले बताइन्।
 
आफू शारीरिक रुपमा अस्वस्थ भएकाले जङ्गल जान नसक्ने तथा दाउरा ल्याउने मान्छे नभएका कारण ग्यासलाई विकल्पका रुपमा रोजेको उनले बताइन्। अहिले गाउँका पसलमा पनि ग्यास बिक्री हुन थालेपछि बजारबाट ग्यास ल्याउनुपर्ने अवस्था नरहेको र गाउँमा ढुवानीको राम्रो सुविधा भएकाले ग्यास ल्याउन खासै कठिन नरहेको घिमिरे बताउँछिन्।
 
गाउँमा गाईवस्तुको लागि आहारा बनाउन बाहेक घरायसी काममा ग्यासको नै प्रयोग हुन थालेको छ। गाईवस्तुको कुडो पकाउन ग्यासमा नमिल्ने भएपछि दाउराको प्रयोग गर्नुपरेको स्थानीयवासी कविता घिमिरेले बताइन्।
 
दाउराको प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले ग्यासको प्रयोग बढ्न थालेको स्थानीय स्वास्थ्य स्वयम्सेविका दुर्गा घिमिरे बताउँछिन्। दाउराको प्रयोगका कारण विभिन्न रोग लाग्न थालेपछि स्थानीयले ग्यासको प्रयोग अत्यधिक रुपमा गर्न थालेका उनको भनाइ छ। उक्त गाउँमा करिब ३०० घरधुरीको बासस्थान रहेको छ। ग्यास पसले रामेश्वर घिमिरे गाउँमा ग्यासको प्रयोग बढ्न थालेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell