PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रेमपत्र : आऊ अन्जु, प्रेमलाई अझ गुलाबी बनाऔं



पहिलोपोस्ट

प्रेमपत्र : आऊ अन्जु, प्रेमलाई अझ गुलाबी बनाऔं

प्रिय अन्जु, धेरै माया।
 
प्रेम कुनै धर्म, जातजाति र भूगोलसँग जोडिनु हुँदैन र जोडिँदैन पनि। त्यसैले होला मैले तिमीलाई माया गरिरहेको छु। तिमीलाई त थाहा छैन होला, तिम्रो सम्झनाको बाछिटाले मेरो हृदय भिजिरहेको हुन्छ आजभोलि। म भौगोलिक रुपमा टाढा भए पनि तिम्रो समीपमै छु झैं लागिरहन्छ। म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि। मानसपटलमा आइरहने धेरै कुराहरु मध्ये तिम्रो याद भने निकै प्रस्ट भएर आइरहेको हुन्छ।
 
तिमीलाई माया गर्छु भनेर सोचेको र थुप्रैपटक तिम्रो नजिक नगएको पनि होइन तर भन्न सकिरहेको थिइनँ। यो हिम्मत भन्ने चिज चाहिँदा कहिल्यै मेरो साथ रहेन र भन्न सकिनँ। कहिले त लाग्छ मैले तिमीलाई माया गर्ने पूर्वाधारहरु पूरा नभएर पनि भन्न हिम्मत नआएको हो कि?
 
प्रिय अन्जु, जसलाई माया गरिन्छ, उसैलाई सम्झनु त हरकसैको नैसर्गिक अधिकार हो। त्यसैले पनि मैले तिमीलाई सम्झिरहनुमा प्रस्ट कारण छ- म तिमीलाई माया गर्छु। हरेक साँझ पर क्षितिजमा सुन्तला रङको अवशेष छोडेर घाम अस्ताउँछ तर मेरो मन भने झन् गुलाबी भएर तिमीलाई सम्झिरहन्छ। दिनलाई त रातको छायाँले अँध्यारो हुन्छ तर तिमीलाई माया गर्ने मेरो मन कहिल्यै अँध्यारो भएन तर पनि मैले तिमीलाई माया गर्छु भनेर भन्न सकिन।
 
विभिन्न परिस्थितिहरुको दोभानमा धेरै पटक बगिरहेँ तर तिमीलाई माया गर्छु भन्नै सकिरहेको थिइनँ तर आज भ्यालेन्टाइन्स डे (प्रणय दिवस)। सम्झेँ- फलामलाई आकार दिने हो भने तातैमा पिट्नुपर्छ अनि मात्र सही आकार दिन सकिन्छ। त्यसैले भ्यालेन्टाइन्स डे'को अवसर पारेर तिमीलाई प्रेम प्रस्ताव राख्दैछु। धेरैले आजको दिन प्रेम प्रस्ताव राख्दा अस्वीकार हुँदैन भन्ने विश्वास बोकेका हुन्छन् र मलाई पनि त्यस्तै विश्वास छ।
 
भ्यालेन्टाइन्स डे किन मनाइन्छ थाहा छ तिमीलाई? आजकै दिन प्रेम प्रस्ताव राख्नुको कारण र महत्त्व बारे थाहा छ के?
 
सुन अन्जु, ई. स २७० तिर रोममा क्लाउडियस द्वितीय नाम गरेका सम्राटले शासन चलाउँथे। उनी सोच्थे- सैनिकहरुले प्रेम र विवाह गर्दा गोप्य सूचनाहरु बाहिरिन सक्छन्। यसैले उनी प्रेम र विवाहप्रति कठोर हुँदै प्रतिबन्ध लगाइदिए।  तर पादरी सन्त भ्यालेन्टाइनलाई भने सैनिकहरुमाथिको यस्तो व्यवहार पटक्कै चित्त बुझेन। उनले धेरैलाई प्रेम गर्न र विवाह गर्न उत्प्रेरित गरिरहे। कतिको त सामूहिक विवाह नै गरिदिएका थिए। यही निषेधाज्ञा तोडेका कारण त्यहाँका शासक क्लाउडियसले भ्यालेन्टाइनलाई जेलमा हाले र पछि मृत्युदण्ड दिए- ईस. २७० फेब्रुअरी १४ का दिन। उनै भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो।
 
प्रिय अन्जु,
हुन त भ्यालेन्टाइन्स डे कुनै धर्मग्रन्थमा उल्लेख छैन। यो त मानिसको प्रेम गर्ने नैसर्गिक अधिकारको पर्व हो। त्यसैले त यसको फैलावट विश्वव्यापी हुन सजिलो भएको छ। पश्चिमी संस्कृति हो भन्दाभन्दै पनि भ्यालेन्टाइन्स डे'ले युवाहरुमाझ मान्यता पाएकै छ। यसको जतिसुकै विरोध गरिए तापनि यसको लोकप्रियता झनझन् बढिरहेको छ।
 
प्रेमको दियो निभ्न नदिने महान् सहिदको सम्झनामा र आफ्नो प्रेमको दियो बालिरहन र प्रेमलाई अझ प्रगाढ बनाउन भ्यालेन्टाइन्स डे मनाइन्छ। मन सँग मनको रङ मिलेपछि नै माया बस्ने हो। धेरै पहिलादेखि नै रङहरु मिलेको मनहरु आधिकारिक रुपमा बाहिर एक-आपसमा प्रकट गर्ने दिनको रुपमा भ्यालेन्टाइन्स डे'लाई  लिइन्छ।
 
सुन अन्जु,
हुन त हरेक कुराको सकारात्मक र नकारात्मक पाटा हुन्छन्। कसैकसैले भ्यालेन्टाइन्स डे'को नाममा खर्च धेरै गर्ने गरेका पनि छन्। हामीले बुझ्नु जरुरी छ,  महँगो उपहार र प्रेम दर्शाउने विदेशी कार्डहरुले मात्र सच्चा माया बस्ने हो र? माया त उपहारभन्दा पनि मन र मन मिलेर बस्ने कुरा न हो। मन र मनको रङ मिलेर बन्ने कुरा न हो। त्यसैले पनि हामीले बुझ्नुपर्छ, प्रेम दिवस मनाउँदै गर्दा हाम्रो संस्कृति र परम्पराको ख्याल गर्नैपर्छ। हाम्रो परम्परा र संस्कृतिको सीमा नाघ्नु हुँदैन। मलाई लाग्छ, तिमी पनि यो मामलामा निकै सजक छ्यौ।
 
त्यसो त भ्यालेन्टाइनको प्रेमप्रतिको कदर गर्दै विश्वप्रसिद्ध साहित्यकारहरु सेक्सपियर, सिग्मण्ड फ्राइड लगायत धेरैले आफ्नो प्रसिद्ध कृतिहरुमा भ्यालेन्टाइनको नाम उल्लेख गरेर उनी प्रतिको सम्मान गरेको पाइन्छ।
 
हुन त भ्यालेन्टाइनलाई जेलमा राखेको बेलामा जेलरकी छोरीलाई खुब प्रेम गरेको कुरा पनि उल्लेख छ। भ्यालेन्टाइनलाई मृत्युदण्ड दिनुअघि उनले ती युवतीलाई प्रेम पत्र लेखेका थिए। पत्रमा के लेखेका थिए भन्ने उल्लेख नगरे पनि बाहिर खाममा भने 'उही तिम्रो भ्यालेन्टाइन' लेखेका थिए। यही कारण पनि आजको दिन धेरैले प्रेमपत्र लेखेर दिने गरेका छन्। ठिक यसै दिन मैले पनि प्रेम पत्र लेखेर तिमीलाई प्रेम प्रस्ताव राख्दैछु। विश्वास छ, तिमीले सकारात्मक प्रतिक्रिया दिनेछौ।
 
प्रिय अन्जु, जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ, त्यसरी नै हृदयलाई प्रेमको प्यास हुन्छ रे। जो प्रेमको अभावमा जिउन बाध्य छन्, उनीहरुको शरीर जस्तोसुकै देखिए पनि आत्मा भोकै हुन्छ र अन्तर्मनले शतत् प्रेम मागिरहेकै हुन्छ। तिमीलाई थाहा पनि होला प्रेम बिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ। प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ रे। त्यसैले पनि मैले तिमीलाई माया गरिरहेको छु, हिमाली जडिबुटी जस्तै अर्गानिक माया।
 
तिमीलाई एउटा कुरा भनिहाल्छु, माया त जीवनको इन्द्रधनुष जस्तै हुनुपर्छ जहाँ जीवनको सम्पूर्ण रङ समाहित हुन सकोस्। हो अन्जु, मैले तिमीलाई त्यस्तै माया गरेको छु। यस्तो लाग्दैछ, आजभोलि त यो मौसम तिम्रो र मेरो लागि मात्र हो। तिमीलाई माया गरेदेखि मलाई दिन मात्र होइन रात पनि निकै सुन्दर लाग्छ। कहिले तिम्रो सपना देख्न पाइन्छ अहिले सुन्दर जून र ताराहरु फुलाइदिने आकाशको बगैँचा हेरीहेरी तिमीलाई सम्झेर बसिरहन मन लाग्छ।
 
अन्तमा प्रिय अन्जु,
आऊ हामी माया गरौं। प्रेम गरौं। विकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ भ्यालेन्टाइन्स डे मनाऔं र प्रेमको सम्मान गरौं।
 
ह्याप्पी भ्यालेन्टाइन्स डे।
 

उही तिम्रो
नवराज क्षितिज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell