PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

महिलाको सहभागिताविना राष्ट्रको समृद्धि हुँदैन : उपराष्ट्रपति पुन



रासस

महिलाको सहभागिताविना राष्ट्रको समृद्धि हुँदैन : उपराष्ट्रपति पुन

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिताविना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन्।
 
महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै उनले व्यापार व्यवसायमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेको बताउँदै महिला उद्यमीका सवाल सम्बोधन गर्न सरकारलाई आग्रह गरे।
 
नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन गर्नु अपरिहार्य रहेकोमा जोड दिए।
 
कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवर्द्धनका लागि प्रदर्शनी लाभदायक हुने बताउँदै प्रदर्शनीबाट प्रविधि, ज्ञान र लगानीसमेत आदानप्रदान हुने धारणा व्यक्त गरे।
 
कार्यक्रममा महासङ्घका प्रथम उपाध्यक्ष शारदा रिजाल, द्वितीय उपाध्यक्ष रीता सिंहलगायतले प्रदर्शनीका बारेमा जानकारी गराउँदै सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्नसके मुलुकभित्रै रोजगारीका अवसर सिर्जना हुने उल्लेख गरे।
 
कार्यक्रममा नेपालको हस्तकला र सीप अभिवृद्धिमा लामो समयदेखि योगदान पुर्‍याउनुहुने महिला उद्यमीद्वय इन्दिरा सापकोटा र विना पौडेललाई सम्मान गरिएको थियो।
 
नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, कोरिया फिलिपिन्सलगायत मुलुकका महिला उद्यमीले उत्पादन गरेको सामग्रीको प्रदर्शनीमा १०० कक्ष छन्।
 
यही फागुन ३ देखि ७ गतेसम्म चल्ने मेलामा करिब एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell