काठमाडौँ : आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्यान्डसहित १६ देशका २०० प्रदर्शनकर्ताले विभिन्न कक्ष समावेश गर्ने छन्।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको जानकारी दिए।
नेपालमा झन्डै रु एक अर्बभन्दा बढीको कृषि औजार आयात हुने गरेको छ। विशेष गरी धान, गहुँ, मकै, कोदोसम्बन्धी बाली लगाउने र भित्र्याउने प्रयोजनमा प्रयोग हुने कृषि औजार आयात हुँदै आएको छ।
प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवम् पशुपालन उद्योगसम्बन्धी विभिन्न प्राविधिक गोष्ठीसमेत सञ्चालन गरिने भएको छ।
मिडिया स्पेस सोलुसन प्रालि फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा हुन गइरहेको उक्त प्रदर्शनीमा कृषि विकास मन्त्रालय तथा कृषि इन्जिनियरिङ निर्देशनालय सहआयोजक पशुपक्षी विकास मन्त्रालय, कृषि उद्यम केन्द्र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ सहयोगीका रुपमा रहेका छन्।