काठमाडौं : मुटुको भल्भ फेरेपछि नियमित औषधि सेवन गरेर पनि महिनैपिच्छे रगत जचाउनु पर्ने झन्झटिलो प्रक्रियाको पनि सम्भवत: अन्त्य हुने भएको छ।
मुटुको भल्भ फेरेपछि सामान्यत: आजीवन औषधि सेवन गर्नुपर्छ भने रगत पातलो छ छैन भनेर १/२ महिनाको फरकमा जचाइँ रहनु पर्छ।
एसियालगायत अफ्रिकी मुलुकमा हुने बाथ मुटुरोगका लागि यो अध्ययन सफल भएमा नेपालका ग्रामीण भेगका मुटुरोगीलाई सहज हुने गंगालाल ह्रदयरोग केन्द्रका प्रशासन प्रमुख दीपेन्द्र खड्काले बताए।
फागुन १ गतेदेखि बाथ मुटुरोगको शल्यक्रिया सुरु गरेसँगै त्यस्ता बिरामीलाई औषधि मात्र सेवन गरेर रगत जचाई रहनु नपर्ने गरी अध्ययन सुरु भएको हो। यो सफल भएमा आगामी वर्षदेखि मुटुको भल्भ फेर्नेहरुलाई अझै राहात हुने खड्काको विश्वास छ।
खड्काले भने, 'विकट पहाडी तथा हिमाली जिल्लाका मुटु रोगीको भल्भ फेर्दा उनीहरुले रगत पातलो छ कि छैन भनेर घर नजिक जचाउन सक्दैनन्। सय रुपैयाँ पर्ने रगत जाँचको लागि पनि १० औँ हजार रुपैयाँ आवत जावतमा खर्च गर्नुपर्छ। यस्तोमा उनीहरुले औषधि मात्र सेवन गर्न पाए भने धेरै सजिलो हुनेछ। यो परीक्षण सुरु गरिसकेका छौँ।' खड्का थप्छन्, 'यो सफल भएमा विकट जिल्लाका मात्र नभएर सुगममा बसिरहेका मुटुरोगी जसले भल्भ फेरेका छन् उनीहरु पनि बेलाबेला रगत जचाई रहुन पर्ने झन्झटबाट मुक्ति पाउने छन्।'