PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

दैनिक चार घन्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता



रासस

  • विनोदसिंह विष्ट
बैतडी : जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन्।

श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन्। वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि पढ्नलाई वडा नं ४ मा रहेको सनातन धर्म मावि खोचलेक जाने गर्दछन्।

बिहान ८ बजे विद्यालय आउनुपर्छ, बेलुका ६ बजे मात्र घर पुगिन्छ, कक्षा ८ मा अध्ययनरत छात्र रमेश गिरीले बताए। उनले भने, 'दैनिक ४ घन्टा हिँड्नुपर्ने बाध्यता छ।'

शिक्षकले दिएको गृहकार्य पनि ४ घन्टा हिँड्नुपर्दा गर्न सकिँदैन, कक्षा ७ का छात्र रोशन गिरीले भने, 'उज्यालो हुँदा विद्यालयको तयारी गर्नुपर्छ, अँध्यारो हुँदा घर पुगिन्छ।' विद्यालय पढ्नकै लागि भनेर यसरी दैनिक ४ घन्टा हिँड्न बाध्य भएको कक्षा १० की छात्रा सुन्नरी गिरीले बताइन्। 'सधैँ ढिलो गरी विद्यालय पुगिन्छ', उनले भनिन्, 'शिक्षकले सधैँ कक्षाकोठामा पढाउन सुरु गरिसकेपछि पुग्छौँ, हाम्रो यो बाध्यतालाई कसैले बुझ्दैन।'

टाढाको बाटो हिँडेर आउँदा मानसिक तथा शारीरिक थकानका कारणले श्रीकोट वडा नं ९ का विद्यार्थीको पढाइप्रति रुचि घट्दै जाने शिक्षक रमेश नाथले जानकारी दिए। कक्षाकोठामा पनि ढिलै पुग्ने गरेको उनले बताए। गृहकार्यसमेत खासै गरेको देखिँदैन। विद्यार्थी सधैँ थाकेर आउने गरेको र कहिलेकाहीँ त कक्षाकोठामै सुत्ने गरेको उनको भनाइ छ।

आफ्नै वडामा माविसम्मको विद्यालय भएको भए यस्तो बाध्यता हट्ने स्थानीय अभिभावक हेमराज गिरीको भनाइ छ। 'यसरी दैनिक ४ घन्टा हिँडेर विद्यालय जानुपर्ने हुँदा राम्रोसँग पढ्न पाउँदैनन्, उनले भने, 'विद्यालयमा पढेको कुरा घर जाँदा थाकेर बिर्सिहाल्छन्।' बाटोको समस्या तथा स्थानीय बगडीगाड खोलामा पुल नहुँदा विद्यार्थीलाई झनै समस्या हुने गरेको उनले बताए।

गाउँ परिषद्बाट छुट्याउने योजनामा समेत सौतेनी व्यवहार गर्ने गरेको ९ नंका स्थानीय बासिन्दाको आरोप रहेको छ। स्थानीय राजनितिक दलले आफ्नो वडाका योजना मात्र परिषद्मा पारित गर्ने गरेका छन्।

वडा मञ्चबाट आएका योजनालाई समेत काटेर राजनीतिक दलले आफ्ना वडामा हाल्ने गरेको समेत स्थानीयवासीको आरोप रहेको छ। ९ नं वडालाई सधैँ श्रीकोट गाविसले सौतेनी व्यवहार गर्ने गरेको बताइएको छ। कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा श्रीकोटका साथै देउलेक, कटौजपानी, न्वाली, हटैराज, सित्तड, श्रीकेदारलगायत गाविसका विद्यार्थी अध्ययनरत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell