PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​स्ववियु निर्वाचनको कार्यतालिका परिमार्जन हुने, फागुन १४ गतेको चुनाव यथावत



पहिलोपोस्ट

​स्ववियु निर्वाचनको कार्यतालिका परिमार्जन हुने, फागुन १४ गतेको चुनाव यथावत

काठमाडौं : फागुन १४ गतेका लागि निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आन्तरिक कार्यतालिका हेरफेर हुने भएको छ।

विद्यार्थी संगठनकै विवादका कारण मनोनयन सुरु हुँदासमेत आधा क्याम्पसहरुमा तालाबन्दी कायम रहेपछि राजनीतिक दलहरुसँगको परामर्शमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक कार्यतालिका परिमार्जन गर्ने लागेको हो । 

अनेरास्ववियु महासचिव ऐन महरले आन्तरिक कार्यतालिका हेरफेर गर्न प्रधानमन्त्री उपकुलपतिलाई निर्देशन दिएको बताए। महरले १४ गतेको निर्वाचन कार्यतालिका भने हेरफेर नगर्न र असहयोग गर्ने क्याम्पस प्रमुखलाई कारबाही गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिएको बताए। 

फागुन १ गतेदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि अहिलेसम्म त्रिविका ६० मध्ये ३५ क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया अघि बढेको छ । नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले उमेरको हदबन्दीको विषयमा र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन प्रक्रिया र फर्जी भर्ना रोक्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनको पनि असन्तुष्टि छ।

चन्द नेतृत्वको विद्यार्थी संगठनले पार्टीको महाधिवेशनसम्म उम्मेदवार मनोनयन रोक्न पनि माग गर्दै आएको छ।  

विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेद्वारको मनोनयन अाजदेखि सुरु हुने कार्यतालिका थियो। तर, विवादका कारण आधा क्याम्पसमा मनोनयन सुरु हुने अवस्था थिएन। मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन गर्ने पूर्वतालिका थियो। 

यसअघिको मनोनयन फिर्ता लिन चाहने उम्मेदवारलाई फागुन ८ गते दिउँसो १ बजेसम्मको समय दिइएको थियो। सोही दिन साँझ ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका थियो।

प्रधानमन्त्रीको निर्देशन अनुसार अब उम्मेदवार मनोनयन, दाबी–विरोध, फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतका कार्यतालिका अब हेरफेर हुनेछन्।  

बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहितको बैठकले कार्यतालिका परिमार्जन गर्न विश्वविद्यालयलाई निर्देशन दिइएको हो। शीर्ष नेताको बैठकमा त्रिवि उपकुलपति, तथा रेक्टरको सहभागिता थियो। यस्तै तीन विद्यार्थी संगठनका अध्यक्ष र पार्टीका विद्यार्थी फाँटका इञ्चार्ज पनि बैठकमा सहभागि थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell