PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

वन संरक्षण हुन थालेपछि चोरी सिकारीमा कमी



रासस

वन संरक्षण हुन थालेपछि चोरी सिकारीमा कमी

पाल्पा : वन क्षेत्रको संरक्षण एवम् प्रवर्द्धनमा समुदायले नेतृत्व लिन थालेपछि यस क्षेत्रबाट हुने वनजन्तु तथा वन पैदावारको चोरी निकासीमा कमी आएको छ।
 
सामुदायिक वन समन्वय समिति, दोभानले वन संरक्षण गर्न थालेपछि चोरी निकासीमा कमी आएको हो।
 
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएका दोभानमा यसअघि वन्यजन्तु तथा वन पैदावर ठूलो मात्रा चोरी निकासी हुँदै आएको थियो तर वन संरक्षणमा समुदायले नेतृत्व लिन थालेपछि यहाँको वनबाट हुने चोरी निकासीमा अत्यधिक कमी आएको हो।
 
गाउँ बस्तीमा नदेखिएका पंक्षीसमेत अहिले वन क्षेत्रमा देखिन थालेपछि स्थानीय बुढापाका दङ्ग छन्। समुदायले नै वन क्षेत्रको संरक्षणमा लागेका कारण अहिले गाउँबाट वन्यजन्तु तथा सालका काठको चोरी तस्करी हुन नपाएको सामुदायिक वन समन्वय समिति, दोभानका अध्यक्ष राजेश श्रेष्ठले बताए।
 
वनक्षेत्र संरक्षण हुन थालेपछि अहिले वनमा चितुवा, मृत, बँदेल, हरिण, थार, वन कुखुरा, बाँदरलगायतका वन्यजन्तु प्रशस्त देखिन थालेको स्थानीयले बताएका छन्।
 
वनक्षेत्र संरक्षण भएसँगै यहाँ जङ्गली जनावरको आश्रयस्थल वनको हो। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डअन्तर्गत दोभान प्रहरी चौकी नजिकै अहिले वन कुखुरा साँझ बिहान प्रशस्त देखिन थालेको स्थानीय बताउँछन्।
 
स्थानीय बासिन्दा चक्रब्यूह थापाले हराभरा वनले यस क्षेत्रबाट विस्तारै हराएका जनावर अहिले देखिनु सुखद् पक्ष रहेको बताए। पाल्पाको गोठादी र दोभान गाविस बाघको यात्रा गर्ने स्थलका रुपमा लिइन्छ।
 
सामुदायिक वन उपभोक्ता महासङ्घ पाल्पाका सचिव श्रीकृष्ण आत्रेयले पाल्पामा ६१२ वन समुदायको रेखदेखमा संरक्षण हुन थालेपछि वन्यजन्तु, काठ तथा जडीबुटी चोरी निकासी हुन रोकिएको बताए।
 
वन हराभरा र वन्यजन्तुको बास स्थान बन्दै जानु समुदायका लागि फाइदा हो। वन संरक्षण गरेबापत समुदायले घाँस, दाउरा र काठको उपभोग गर्न पाएपछि स्थानीय पनि खुसी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell