जुम्ला : जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ।
सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. अनुप मङ्गल समालले समाजमा कोहीसँग नखुल्ने, माया साट्न नसक्ने, सामाजिक रुपमा तिरस्कृत हुँदै जानुले मानसिक रोगीको सङ्ख्या बढेको हो। 'यसबाट महिला र किशोरी बढी जोखिममा परेका छन्,' उनले भने।
खासगरी २५–३० वर्ष उमेर समूहका युवायुवती मानसिक रोगबाट बढी प्रभावित छन्। 'तन्नेरीले काम नगर्ने, नशा सेवन गर्ने, मादक पदार्थको प्रयोग जस्ता कुराले यसका रोगी बढेका हुन्। त्यसको प्रत्यक्ष असर महिलालाई पर्ने गरेको छ,' डा. समालले भने।
बेरोजगारी, गरिबी, चेतनाको कमीका कारण मानसिक रोगीको सङ्ख्या ह्वात्तै बढको उनको भनाइ छ। भौगोलिक विकटताका कारण समयमै मानसिक रोगी स्वास्थ्य सेवा लिनबाट वञ्चित रहँदै आएका छन्। मनोवैज्ञानिक विमर्शकर्ता नन्दराज आचार्य समाजमा बढ्दै गएको घरेलु तथा लैङ्गिक हिंसा, जातीय विभेद, लागुऔषध दुर्व्यसनी, दाइजो, जारीलगायत सामाजिक कुप्रथाका कारण मानसिक रोगीको सङ्ख्या बढेको बताउँछन्।
मानसिक रोग चुलिँदै जाँदा अन्त्यमा आत्महत्या गर्ने र मानसिक रुपमा विचलित भएर हिँड्ने गरेका पाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले जिल्लामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको बताउँछन्। आव २०७०/७१ मा आठ महिला र सात पुरुष, आव २०७१/०७२ मा ६ पुरुष र दुई महिला, आव २०७२/७३ मा पाँच महिला र तीन पुरुष तथा चालु आवको माघ अन्तिम सातासम्म पुरुष सात र तीन महिलाले आत्महत्या गरेका छन्।