PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

यसकारण नसर्ने भयो स्ववियु चुनाव, फागुन १४ मै गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन



रमेश वाग्ले

यसकारण नसर्ने भयो स्ववियु चुनाव, फागुन १४ मै गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाडौं : यति बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावले नेपालको राजनीति तात्तिएको छ। राष्ट्रिय समस्या समाधानका विषयमा आकलझुक्कल मात्र बस्ने नेताहरु विद्यार्थी चुनावमाथिको छलफलमा भने दैनिकजसो छलफलमा व्यस्त देखिन्छन्।
 
देश संवैधानिक संकट नजिक रहेको व्याख्या गर्दै हिँडेका नेताहरु आफैंले व्याख्या गरेका त्यस्ता विषयको बहसमा उतिसारो समय निकालिरहेका छैनन्। तर, सत्तापक्षदेखि प्रतिपक्षी दलका प्रमुख नेताहरु आसन्न स्ववियु चुनावलाई लिएर बहसमा छन्।
 
मंगलबार प्रधानमन्त्रीले नै डाकेर सत्तासहयात्री दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत बसेर स्वतन्त्र विद्यार्थी युनियन चुनावका विषयमा छलफल गरे।
 
सोमबार बैठक बसेर आ-आफ्ना भ्रातृ संगठनलाई चुनावमा होमिन आह्वान गर्ने भनेर छुटेका नेताहरु प्रधानमन्त्रीकै निमन्त्रणमा बुधबार बिहान पुनः बालुवाटारमा नै बठक बसे। बुधबार बिहान उनीहरु मात्र बसेनन्, विद्यार्थी विभाग हेर्ने सबै दलका नेताहरु, त्रिविका पदाधिकारी तथा विद्यार्थी संगठनका अध्यक्ष समेत बैठकमा सहभागी भए।
 
सबै पक्ष सहभागी बैठकमा कांग्रेस सभापति देउवाले अन्य राजनीतिक दल निकटका विद्यार्थी संगठनले आफ्नो पार्टीको महाधिवेशनलाई नै कारण देखाएर विरोध गरेकाले केही दिन सारेर पनि स्वतन्त्र विद्यार्थी चुनाव गराउन सकिन्छ भन्ने प्रस्ताव राखेका थिए। 'उनीहरुले पनि चुनावमा भाग लिँदैनौ भनेका छैनन्, आफ्नो पार्टिको महाधिवेशन परेकाले सारौं भनेका छन्। यो चुनावका लागि सकारात्मक कुरा हो,' देउवाको भनाइ उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, 'यदि सबै संगठन प्रतिस्पर्धामा भाग लिन आउँछन् भने बढीमा हप्ता-१० दिनसम्म चुनावको मिति पछि सार्दा फरक पर्दैन।' देउवाले केही दिन सार्दा चुनावको वैधानिकता बढ्ने र नियम विपरीतका कुरा गर्दै हिँड्ने संगठन समेत बाँकी नरहने बताएका थिए।
 
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले भने चुनाव एक हप्ता नभएर एक घन्टा पछि सार्ने कुरामा समेत आफ्नो समर्थन नरहने बताएका थिए। 'चुनाव एक हप्ता हैन एक घन्टा पछि सार्ने कुरामा पनि हाम्रो समर्थन रहँदैन, त्यस्तो गर्ने भनेको अन्तत: चुनाव टार्ने नै हो,' ओलीको भनाइबारे बैठकमा सहभागी विद्यार्थी नेताले भने, 'कोही चुनावमा आउँदैन भनेर चुनाव सर्दैन। जसलाई सहभागी हुनुछ, आउँछन्, जसलाई हुनुछैन उनीहरु आउँदैनन्।'
 
ओलीको भनाइपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही शक्तिहरु चुनावमा आउँछन् भन्ने आफूलाई नलागेको भन्दै नआउनेहरुलाई कुर्नु ठिक नहुने बताएका थिए। 'केही संगठन विरोधका लागि विरोध गर्नेतर्फ लागेका छन्,' उनले विप्लव निकट विद्यार्थीतर्फ संकेत गर्दै भनेका थिए, 'कोही चुनावमै नआउने संगठनलाई कुर्नुको कुनै औचित्य पनि रहँदैन।' प्रधानमन्त्रीको भनाइमा देउवाले पनि समर्थन जनाएका थिए।
 
'सबैलाई समेटेर लैजाऔं भन्ने मेरो भावना हो, चुनाव गराउनुपर्छ भन्नेमा मेरै पार्टीको भ्रातृ संगठनबाट पनि दबाब छ,' देउवाको भनाइबारे उनकै पार्टीको भ्रातृ संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले भने, 'प्रधानमन्त्रीजी नै उनीहरु आउँदैनन् भन्ने निष्कर्षमा हो भने चुनावमा जाँऔं, कार्यतालिका मिलाएर गराउन त्रिविलाई भनौं।'
 
उनले त्यसो भनेपछि प्रधानमन्त्री दाहालले त्रिविका उपकुलपति डा. तीर्थ खनियाँलाई चुनावी कार्यतालिका 'फास्टट्रयाक'मा अघि बढ्नेगरी चुनाव गराउन निर्देशन दिएका थिए।
 
उनको निर्देशनपछि त्रिवि प्रशासन चुनावी तयारीमा जुटेको छ भने विद्यार्थी संगठनहरु पनि चुनावी तयारीमा होमिएका छन्।
 
राजनीतिक नेता उत्पादनको कारखाना भएकाले पनि स्ववियु चुनाव गराउन दलका नेताहरुको क्रियाशीलता बढेको हो। त्रिविले फागुन १४ मा स्ववियु चुनाव गराउने भनेर गत असार २६ गतेको सिनेटबाट निर्णय गरेको थियो। त्यसलाई सबैजसो विद्यार्थी संगठनहरुले स्वागत गरेका थिए। गत पुस २० मा बसेको त्रिविको अर्को सिनेटले पुनः फागुन १४ को मितिलाई सदर गर्दै कार्यतालिका बनाएर चुनाव गराउने निर्णय सार्वजनिक गर्‍यो। त्यसलाई पनि सबै संगठनले स्वागत नै गरे। केही प्राविधिक विषयमा प्रश्न उठाउने बाहेक मितिका विषयमा उनीहरुका कुनै असहमति आएका थिएनन्।
 
तर, पार्टीको महाधिवेशनलाई कारण बनाएर नेत्रविक्रम चन्द विप्लवको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चुनावको मिति पछि सार्न माग गर्दै विरोध सुरु गरेको छ। उसले त्रिविका रेक्टर सुधा त्रिपाठीको गाडीमा आगजनी गरिदिएको छ भने उनलाई फोन गरेर चुनाव गराए घरमा आगो झोसिदिने भन्दै धम्क्याउन समेत भ्याएको छ।
 
यही समयमा राप्रपाको पनि एकता महाधिवेशन हुन लागेकाले उसको भ्रातृ संगठन राप्रविसंघले पनि चुनावी कार्यतालिका पछि सार्न माग गरेको छ। तर, विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले राखेको बैठकको निर्णय अनुसार अब राप्रपाको अधिवेशन सकिएलगत्तै चुनावी कार्यतालिका अघि बढ्छ र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फागुन १४ मै हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell