PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

तोकिएको मितिमा स्ववियु चुनाव नभए उपकुलपतिको गाडी जलाउने विद्यार्थी नेताको चेतावनी



पहिलोपोस्ट

तोकिएको मितिमा स्ववियु चुनाव नभए उपकुलपतिको गाडी जलाउने विद्यार्थी नेताको चेतावनी

काठमाडौं : केन्द्रीय क्याम्पस कीर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियु निर्वाचन नभए उपकुलपतिको गाडी जलाउने चेतावनी दिएका छन्।
 
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल विद्यार्थी संघ केन्द्रीय क्याम्पस कीर्तिपुरका नेता योगेन्द्र रावलले त्रिविले विद्यार्थीको हितविपरीत काम गरिरहेको आरोप लगाए।
 
उनले भने, ‘त्रिभुवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विद्यार्थीहरूको हितको लागि त्रिवि संवेदनशील छैन, चुनावलाई भाँड्नको लागि केही विद्यार्थी संगठनका साथीहरूले काम गरिरहनुभएको छ।'
 
अखिल क्रान्तिकारी कीर्तिपुरका सभापतिका उम्मेदवार तिलकप्रसाद उपाध्यायले स्ववियु निर्वाचनमा पराजय हुने डरले अन्य विद्यार्थी संगठन निवार्चनलाई असफल पार्नमा उद्यत रहेको आरोप लगाए। ‘क्रान्तिकारीसँग डराएर निर्वाचन भाँड्ने काम भइरहेको छ, हामी मैदानमा छौँ, तोकिएको मितिमा चुनाव हुनैपर्छ,' उनले भने, 'संगठनहरूको नामावली टाँस्नको लागि त्रिवि डराइरहेको छ, प्रशासनले सुरक्षा दिन सक्दैन भने अखिल क्रान्तिकारी सुरक्षा दिन तयार छ।'
 
अनेरास्ववियुका नेता मंगल थापाले विगत आठ वर्षदेखि अवरुद्ध स्ववियु निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘तोकिएको समयमै निर्वाचन हुन्छ, हाम्रो केन्द्रीय संगठनले सबै क्यापसमा आफ्नो घोषणापत्र सार्वजनिक  गरिसकेको छ, हामी निर्वाचनमा भाग लिन तयार छौँ।'
 
यदि १४ गते निर्वाचन गरिएन भने उपकुलपतिको गाडी जलाउने उनले चेतावनी पनि दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell