- नारायण अधिकारी
जिल्लाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ। भूकम्पको सबैभन्दा बढी प्रभाव पहाडमा नै परेको थियो।
हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा १८ हजार ५७२ घरधुरीले प्रभावित भएको भन्दै आवेदन दिएकामा पुनः सर्वेक्षण कार्य बल्ल सुरु भएको छ। पहाडी क्षेत्रका नौ हजार घरधुरीमध्ये चेपाङका मात्र तीन हजार ५०० रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लुइँटेलले बताए। जिल्लामा कुल चेपाङको सङ्ख्या २८ हजार ३६३ जना छन्।
चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङका अनुसार १० प्रतिशत मात्र चेपाङलाई वर्षभर आफ्नै बारीको उत्पादनले खान पुग्छ। अन्यले निमेक गरेर र साग सिस्नो गिठ्ठा भ्याकुरमा जीविकोपार्जन गर्नुपर्छ। एकातिर अन्न छैन अर्कोतर्फ वास छैन। यही पीडामा जिल्लाका चेपाङ समुदाय जाडो काटिरहेका छन्।
दारेचोक गाविस–९ धुसाहाकी दमन कुमारी चेपाङ आफ्ना बच्चाबच्चीसहित टिनको खुल्ला छाप्रोमा बास बस्दै आएका छन्। दोस्रो वर्षको जाडोलाई पनि चिर्दै आएको यो परिवारको पुरानो घर भूकम्पले चिराचिरा भएको छ। त्यसै घरमा सासू ससुरा बसिरहेका छन् भने छोराछोरी जोगाउन दमनकुमारी श्रीमानसँगै टहरोमा बस्दै आएका छन्।
सोही स्थानकी फूलमती चेपाङको परिवारको पनि टहराकै बास छ। घर पूरै भत्किएपछि ऋण काँढेर बनाएको टहरोमा नअटे पछि फूलमती र बच्चाबच्ची टहरामा नै बस्दै आएका छन्। त्रिपाल कुहिएपछि स्थानीय प्रभावितले दाता र ऋणको भरमा अस्थायी टहरा र छाप्रो बनाएर जीवन निर्वाह गर्दै छन्।
गर्मीको मौसममा त्यति कठिन नहुने भए पनि जाडोमा भने पहाडमा चल्ने सिरेटोले बच्चाबच्चा र वृद्धवृद्धालाई बचाउनै मुस्किल पर्ने गरेको सिद्धि गाविस–६ मजवाङका दिवलाल चेपाङ बताउँछन्। आफ्नो पाँच जनाको परिवार टहरामा बस्दै आएको बताउँदै उनले राज्यले नहेरेपछि के गर्ने भनेर दुःख पोखे।
पहिलो वर्ष घर बन्ने आशामा काटियो दोस्रो वर्ष पनि त्यही हालत भयो केटाकेटीलाई कसरी जोगाउने दिवलालले दुखेसो पोखे। शक्तिखोरका ५० वर्षीय सुकवीर प्रजाले ८३ वर्षका वृद्ध बुबालाई जाडोबाट कसरी जोगाउने भन्ने चिन्ता रहेको बताए। भूकम्पका बेला पाएको राहतबाहेक केही पाउन नसकेको भन्दै उनले त्रिपालले बारेर आगो तापेर बस्न बाध्य भएको बताए।
सिद्धि–८ का महेन्द्र चेपाङले भूकम्पबाट प्रभावितले राहत नपाएकोमा चिन्ता व्यक्त गर्दै भने चेपाङको आँसुले सरकारलाई बगाएर लान्छ। चेपाङ सहकारी शक्तिखोरका अध्यक्षसमेत रहेका महेन्द्रले गाउँमा सबैको विचल्ली छ भन्दै जाडो छल्न निकै मुस्किल परिरहेको बताए। कोराक गाविस–८ थामतारमा रहेको राप्रावि किरणटारका प्रध्यानाध्यापक हरिलाल प्रजा राज्यले समयमानै भूकम्प प्रभावितलाई सम्बोधन गर्न नसक्दा पीडा बढ्दै गएको बताउँछन्। न खानेकुरा छ न त बस्ने स्थान छ, योभन्दा पीडा केही हुन नसक्ने भन्दै उनले छिट्टै घर निर्माणका पहल हुनुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पूर्ण प्रभावित १४ जिल्लाभित्र नपरेका कारण राहतमा ढिलाइ भएको बताएका छन्। पुनःलगत सङ्कलन सुरु भइसकेकाले यो तथ्याङ्क प्राधिकरणमा गएसँगै प्रभावितको घर निर्माण सुरु हुने उनले जानकारी दिए।