पाँचथर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ।'
उनले अब संविधान आइसकेको हुँदा अब मुलक समृद्धितर्फ लम्कने बेला आइसकेको बताए। उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे।
अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए।