PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

'राजासहितको प्रजातन्त्र'मा फर्किदै राप्रपा, अध्यक्षमा थापा र लोहनी भिड्ने



रमेश वाग्ले

'राजासहितको प्रजातन्त्र'मा फर्किदै राप्रपा, अध्यक्षमा थापा र लोहनी भिड्ने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रमा फर्किएको छ। गत मंसिर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरण भएर राप्रपा बन्दा राप्रपा नेपालले राजतन्त्र छोड्ने र राप्रपाले धर्म निरपेक्षता छोडेर हिन्दू पर्टीका रुपमा स्थापित हुने अनौपचारिक सहमतिसहित एकीकरण भएका थिए।

पार्टी एक भएर महाधिवेशनमा नपुग्दै राजतन्त्रमा फर्किएका हुन्। दुवै पार्टीको एकीकृत कार्यसम्पादन समितिले महाधिवेशनका लागि राजासहितको प्रजातन्त्र हुने राजनीतिक प्रस्ताव महाधिवेशनको एजेण्डाका रुपमा पारित गरेका छन्।

दुवैतर्फबाट सर्वसम्म पारित भएको राजनीतिक एजेण्डामा महाधिवेशनमा बहस भए पनि पारित नै नहुने सम्भावना कमजोर देखिन्छ।
 
एकता महाधिवेशनका लागि राप्रपाको ७१ जिल्लामा अधिवेसन सकिएको छ भने बाँकी चार जिल्लामा दुई पक्षका समानान्तर अधिवेशन गरेर आ–आफूलाई आधिकारिक दाबी गरिरहेका छन्।
 
धनुषा, सर्लाही, रौतहट र रोल्पामा दुवै पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर आफूलाई आधिकारिक दावी गरेका कारण राजनीतिक निर्णयबाट ती जिल्लालाई महाधिवेशनमा सहभागी गराउने तयारी भइरहेको छ।
 
'जिल्लामा समन्वयको अभावका कारण दुवैतर्फ अधिवेशन भएका छन्, दुवैतर्फ हाम्रै साथीहरु हुनुहुन्छ,' केन्द्रीय सदस्य सुशील कुमार श्रेष्ठले भने, 'उहाँहरुलाई राजनीतिक निर्णयमार्फत महाधिवेशनमा सहभागी गराइने छ।'
 
राप्रपा नेपालमा उत्साह भएको तर पुराना नेता नभएको तथा राप्रपामा पुराना नेताहरु धेरै भएको तर उत्साह कम भएका कारण पार्टी निर्माण कमजोर बने पनि अहिले पार्टी निर्माणको संकेत देखिएको छ।
 
'राप्रपामा पुराना नेताहरु धेरै भएर पनि उहाँहरु क्रियाशीलताविहिन भएका कारण पार्टी निस्क्रियजस्तै बनेको थियो, राप्रपा नेपालमा संगठन गतिशील भएर पनि पुराना नेताहरु जिल्लामा राप्रपातिरै भएका कारण उत्साह भरिएको थिएन,' श्रेष्ठले भने, 'पार्टी एकीकरण र जिल्लामा अधिवेशन भएपछि पार्टीले कार्यकर्ता र नेतृत्व दुवै पाएको छ। अब साँच्चिकै राजनीतिक शक्तिको निर्माण भएको छ।'
 
आगामी ६ गतेबाट भृकुटीमण्डपमा सुरु हुने महाधिवेशनमा राप्रपाले ३३ सय १५ जना प्रतिनिधि सहभागी हुनेछन्। राप्रपाले हरेक निर्वाचन क्षेत्रबाट दुई महिला एक दलित तथा अल्पसंख्यक/मुस्लिम/आदिवासीमध्ये एकजना र चार खुल्ला गरी आठजना र एक क्षेत्रीय अध्यक्षसहित नौजना जिल्ला कार्यसमितिबाट पनि नौ जना गरी महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन्।
 
राप्रपाले विदेशमा रहेका समितिहरुलाई पनि दुईजना सहभागी गराउने निर्णय गरेको छ।
 
पूर्वपञ्चहरुको गठबन्धनकै रुपमा स्थापित भएको राप्रपा अवसरको राजनीतिमा बरालिएर पटक–पटक फुट-जुटमा गुज्रिएको थियो।
 
फुटको लामो राजनीतिक इतिहास बनाएको पार्टी केही अघिसम्म राप्रपा र राप्रपा नेपाका रुपमा दुई टुक्रामा सीमित भएको थियो।
 
पशुपतिशमशेर नेतृत्वमा राप्रपा र कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालकाको एकीकरणपछि अहिले एकता महाधिवेशन हुन लागेको हो।
 
अध्यक्षमा दुई प्रतिस्पर्धी
 
राप्रपाको महाधिवेशन नजिकिँदै जाँदा पार्टी अध्यक्षमा दुई प्रतिस्पर्धी मैदानमा देखिएका छन्। राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले एकीकृत पार्टीको अध्यक्ष बन्न नआँटेपछि पुरानो राप्रपाको तर्फबाट प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापाका बीच प्रतिस्पर्धा हुने देखिन्छ।
 
अध्यक्ष थापाले आफू एकीकृत पार्टीको अध्यक्ष भइसकेपछि महाधिवेशसनमा पुग्नुअघि नै पार्टीलाई पुरानो एजेण्डामा हिँडाउन सफल भइसकेका छन् भने प्रतिस्पर्धी लोहनीले आर्थिक एजेण्डालाई प्राथमिक बनाएर थापासँग प्रतिस्पर्धाको तयारी गरेका छन्।
 
'राजनीतिक एजेण्डा उही हुन्, तर व्याख्यामा केही फरक छ,' डाक्टर लोहनीले भने, 'मेरो एजेण्डा राष्ट्रिय एकताको प्रतीकका रुपमा राजसंस्थालाई राप्रपाले मात्र हैन अरु सबै राजनीतिक दलको एजेण्डा बनाउनुपर्छ भन्ने हो।' उनले त्यसका लागि अहिले समय उपयुक्त नभइसकेको बताए।
 
'अहिले त्यो समय भइसकेको छैन, त्यो समय अवश्य आउने छ,' लोहनीले भने, ' त्यो एउटा पक्षले राजनीति गर्ने एजेण्डा नभएर राष्ट्रियतासँग सम्बन्धित विषय हो।'
 
लोहनीले आफ्नो नेतृत्व भए सबै दललाई त्यो एजेण्डामा ल्याउने दाबी गरे। उनले आर्थिक मुद्दामार्फत पार्टीमा आकर्षण बढाउन पनि आफूले उम्मेद्वारी दिएको बताए।
 
लोहनीले प्रतिस्पर्धाको राजनीति जोगाउन आफूले उम्मद्वारी दिएकाले फिर्ता नहुने बताए पनि कमल थापालाई सर्वसम्मत बनाउन वार्तामा रहेकाले उनको उम्मेद्वारी फिर्ता हुनसक्ने राप्रपाका नेताहरुले जनाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell