
एजेन्सी : मलेसियन प्रहरीले उत्तर कोरियाली नेता किम जोङ् उनका दाजु किम जोङ् नेमको हत्यामा संलग्न रहेको आरोपमा थप एक महिला पक्राउ गरेको छ। प्रहरीले शंकास्पद मानेका दुईमध्ये एक महिला बुधबार नै पक्राउ परेकी थिइन। शंकास्पद दोस्री महिलालाई मलेसियन प्रहरीले बिहीबार पक्राउ गरेको हो।
मलेसियाको सरकारी समाचार एजेन्सी बर्नामा’ले प्रहरी प्रमुख खालिद अबु बकारको भनाई उद्रृत गर्दै दोस्रो शंकास्पद महिला पनि पक्राउ परेको उल्लेख गरेको छ।
पक्राउ परेकी महिलाको घटनामा संलग्नताबारे पुष्टि भने भइसकेको छैन।
यसअघि बुधबार प्रहरीले एक शंकास्पद महिला पक्राउ गरेको थियो। क्वालालाम्पुरको विमानस्थलबाट ती महिला पक्राउ परेकी थिइन। किमलाई विषालु सुई दिएर उत्तर कोरियाली महिला जासुसले हत्या गरेको आशंका गरिएको थियो।
विमानस्थलको क्लोज सर्किट टेलिभिजनमा किम जोङ्ग नेमको स्वास्थ्य बिग्रनु अगाडि २ युवती देखिएका थिए। सोही फुटेजका आधारमा प्रहरीले महिलालाई पक्राउ गरेको हो।
उत्तर कोरियाले घटनाबारे केही बोलेको छैन। दक्षिण कोरियाले भने मारिएका ब्यक्ती उत्तर कोरियाका नेताको दाई भएको दावी गरेको छ।