काठमाडौं : बैंङ्कहरुले लगानी योग्य रकम (तरलता) अभावमा कर्जा प्रवाह कटौती गरेपछि देशैभर तिब्र गतिमा उकालो चढेको घरजग्गा कारोबारमा ब्रेक लागेको छ।
मंसिरमा घरजग्गा रजिष्ट्रेसन बापत देशब्यापी रुपमा लक्ष्यको दोब्बर बढी राजश्व संकलन भएकोमा पुष देखि ओरालो लाग्ने क्रम सुरु भएको हो।
मंसिरमा देशभरका मालपोत कार्यालयको राजश्व लक्ष्य एक अर्ब १२ करोड रुपैयाँ रहेकोमा २ अर्व ३२ करोड रुपैयाँ संकलन भएको थियो। त्यसबाट उत्साहित भएर पुषमा दुई अर्ब ५२ करोड रुपैयाँ लक्ष राखिएकोमा २ अर्ब ५ करोड रुपैयाँ मात्र संकलन भयो।
माघको देशब्यापी लक्ष्य एक अर्व ४० करोड रुपैयाँ रहेकोमा राजस्व संकलनको तथ्याङ्क एकीकृत भइसकेको छैन।
तथापी देशभरको रजिष्ट्रेसनमा झण्डै ५० प्रतिशत हिस्सा ओगट्ने उपत्यकाका मालपोत कार्यालयहरुको राजस्व माघमा उल्लेख्य रुपले घटेको छ। मंसिर र पुषको तुलनामा माघमा उपत्यकाका आठ मालपोत कार्यालयमध्ये डिल्लीबजार र मनमैजु बाहेक सबैको राजस्व घटेको हो।
उपत्यकाका मालपोत कार्यालयको राजस्व मंसिरको तुलनामा पुषमा ९ करोड रुपैयाँले गिरावट आएको थियो। माघमा यो थप झन्डै सात करोड रुपैयाँले खुम्चिएको छ।
राजधानीका मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै कारोबार गर्ने डिल्लीबजारमा मंसिरको तुलनामा पुषमा झण्डै ८ करोड रुपैयाँले राजस्व घटेको थियो। पुषको तुलनामा माघमा भने ८० लाख रुपैयाँ बढी राजश्व बृद्धि भएको कार्यालय प्रमुख पद्मनीधि सोतीले जानकारी दिए।
‘यो सामान्य अवस्थाको कारोबार हो, उनले भने 'राजश्व केहि बढी देखिए पनि अघिल्लो महिना देखि नै यस क्षेत्रको कारोबारमा निकै सुस्तता आएको थियो।’
डिल्लीबजार जस्तै मनमैजुको पनि मंसिरको तुलनामा पुषमा राजस्व घटेर माघमा केहि बढेको छ।
मालपोत कार्यालय साँखुले मंसिरको तुलनामा पुषमा ३७ लाख रुपैयाँ बढी राजश्व उठाएको थियो। तर, माघको राजश्वमा भने ८८ लाख रुपैयाँले गिरावट आएको कार्यालय प्रमुख किरण कुमार भट्टराईले बताए।
साँखु क्षेत्रमा बैंकको भन्दा बढी काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रभाव परेर कारोबारमा गिरावट आएको भट्टराईले जानकारी दिए। प्राधिकरणले जथाभावी भईरहेको प्लटिङलाई रोक्न ५ प्रतिशत खुल्ला क्षेत्र अनिवार्य छोड्नुपर्ने प्रावधान ल्याएपछि कारोबार सुस्ताएको उनले बताए।
मालपोत कार्यालय कलंकीको पनि मंसिरको तुलनामा पुष देखिनै राजस्व घट्न थालेको थियो। पुषमा ३१ लाख रुपैयाँले घटेको राजस्व माघमा दुई करोड रुपैयाँ बढीले ओरालो लागेको कार्यालयकी लेखा अधिकृत माया पन्थीले जानकारी दिईन्।
माघमा राजस्व धेरै घट्नेमा मालपोत कार्यालय चावहिल पनि परेको छ। मंसिरको तुलनामा पुषमा एक करोड ५४ लाख रुपैयाँ कम राजस्व संकलन भएकोमा माघमा दुई करोड ६५ लाख रुपैयाँले घटेको कार्यालय प्रमुख पृथबहादुर केसीले जानकारी दिए।
भक्तपुर मालपोत कार्यलयले मंसिरको तुलनामा पुषमा पाँच लाख रुपैयाँ बढी राजस्व उठाएको थियो। माघमा उसको पनि राजस्व २६ लाख रुपैयाँले घटेको छ।
लगनखेल मालपोत कार्यलयको राजस्व पनि मंसिरको तुलनामा पुष महिनामा करिव दुई करोड रुपैयाँले घटेको थियो। माघमा कार्यालयको राजस्व झन्डै चार करोड रुपैयाँले ओरालो लागेको छ।