काठमाडौँ : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन्।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरे।
युरोपेली सङ्घको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउँदै अध्यक्ष जङ्करले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिए।
नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायुसेनालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जङ्करलाई अनुरोध गरे। अध्यक्ष जङ्करले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि डा. महतलाई आश्वासन दिलाए।
डा. महतले अध्यक्षलाई नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे पनि जानकारी दिए। डा. महतले आज लक्जेम्बर्गमा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री तथा विकास सहयोगमन्त्रीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।