चितवन : नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ।
भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्ग चित्र घोषणा गरेका हुन्।
नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई आधार मानेर नेपाली नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले प्रजिअ भट्टकै योजनाअनुसार चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको हो।
जसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ भनिएको छ। घोषणा गर्दै प्रजिअ भट्टले यसलाई अभियानकै रुपमा लिन आग्रह गरे।
राजनीतिक दललगायत विभिन्न सरकारी गैरसरकारी निकायबीच सामूहिक प्रतिबद्धता, समन्वय गरी सेवा प्रवाह गर्ने, प्रभावकारी सेवाका लागि दबाब दिने, अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने र सेवालाई निगरानी बढाउन आह्वान गर्ने उद्देश्यले चितवन मार्ग चित्र २०७३ घोषणा गरिएको हो।
जिल्लाको समग्र पक्षको सुधारका लागि सामूहिक प्रतिबद्धता आवश्यक भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए।
उनका अनुसार चितवन मार्ग चित्रमा सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्ने, विकास व्यवस्थापन, शान्ति सुरक्षा, प्रत्येक कार्यालयको समग्र व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखिएको छ।
यो अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण संयन्त्र गठन भएको छ। संयन्त्रमा राजनीतिक दलका प्रमुख सदस्य छन्।
यस्तै स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, उपभोक्ता अधिकार मञ्चका प्रमुख, पत्रकार महासङ्घ चितवनका अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रमुख सदस्यको रुपमा रहनेछन्।