PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

जुम्लामा गाडी दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु



रासस

जुम्ला : जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।
 
मृत्यु हुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए।
 
नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक सो गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो। सामान बोकेको उक्त गाडीमा तीन पुरुष र एक महिला गरी चार जना सवार रहेको प्रहरीले जनाएको छ।
 
मृतकको शव स्वास्थ्य परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइने तयारी भइरहेको जिप्रका जुम्लाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell