PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राप्रपामा एक सय ६१ सदस्यीय जम्बो कार्यसमिति बन्ने, केन्द्रीय पदाधिकारीको संख्या २७ पुर्‍याउने



पहिलोपोस्ट

काठमाडौ : गत मंसिरमा राप्रपा र राप्रपा नेपाल एकीकरणपछि एकता महाधिवेशनमा जान लागेको राप्रपाले जम्बो कार्यसमितिको तयारी गरेको छ। एक सय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी विधान मस्यौदा गरेको राप्रपाले केन्द्रीय पदाधिकारीको संख्या मात्र २७ पुर्‍याउने प्रस्ताव गरेको छ।
 
'पाँच उपाध्यक्ष, तीन महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था विधान मस्यौदामा गरेका छौ, 'विधान मस्यौदा समितिकी सदस्य कुन्तिकुमारी शाहीले भनिन्, 'केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधितव सुनिश्चित गरिएको छ, ६० प्रतिशत सदस्य निर्वाचित र ४० प्रतिशत सदस्य मनोनित हुने व्यवस्था गरेका छौ।' उनले समावेशी प्रतिनिधित्वको व्यवस्था पनि विधानले गरेको बताइन्।
 
राप्रपाको विधान मस्यौदा समितिले गरेको प्रस्ताव महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेमा अब राप्रपामा एक अध्यक्षसहित २७ पदाधिकारी रहने छन्।
 
पदाधिकारीमा विकास क्षेत्रबाट प्रतिनिधित्व हुने गरी पाँच उपाध्यक्ष, तीन महामन्त्री, विकास क्षेत्रबाटै प्रतिनिधित्व गर्ने गरी पाँच सहमहामन्त्री र प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी सात सहायक महामन्त्री हुने छन्। केन्द्रीय समितिमा एक कोषाध्यक्ष पनि रहने छन्।
 
१३४ जना केन्द्रीय सदस्य रहने समितिमा ८० केन्द्रीय सदस्य निर्वाचित हुने छन् भने बाँकी ५४ जनालाई अध्यक्ष कमल थापाले मनोनित गर्ने छन्। निर्वाचित र मनोनित गरी राप्रपामा ३३ प्रतिशत महिला केन्द्रीय समितिमा रहने विधान मस्यौदा समितिकी सदस्य कुन्ति शाहीले बताइन्।

राप्रपाले यसअघिको राप्रपा नेपालले जस्तै 'राजासहितको प्रजातन्त्र', संघीयताको सट्टा स्थानीय स्वायत्तता र कर्मनिरपेक्षताको ठाउँमा हिन्दूराज्यको नारा पारित गरेको राप्रपाले अहिले सहायक महामन्त्री मात्र प्रदेशको संख्यासँग जोडे पनि विधानमा भने प्रदेश कार्यसमितिको समेत प्रस्ताव तयार परेको छ। 'संविधान त मान्नै पर्‍यो त, भोली प्रदेशको चुनाव हुन्छ मुख्यमन्त्रीका लागि चुनाव लड्नै पर्‍यो', सदस्य शाहीले भनिन्, 'त्यसैले पार्टी संरचना त बनाउनै पर्यो नि।' उनले पार्टीले राजनीतिक मुद्दा भने राजासहितको प्रजातन्त्र, स्थानीय स्वायत्तता र हिन्दूराज्य नै बनाएर जाने बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell