
काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले आफूहरुले अघि सारेका मागहरु एक हप्ताभित्र सम्बोधन नगरिए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ।
रिपोर्टर्स क्लबमा बिहीबार नेपाल पक्षधरले पत्रकार सम्मेलन गरेर संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी प्रमाङ्गीको शैलीमा संचालन गर्नु, गराउनु गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र जायज मागहरू सम्बोधन नगरिए ०७४ वैशाख ९ देखि १२ गतेसम्म चितवनमा महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएको छ।
संघकी उपाध्यक्ष दिलु पन्तले पार्टीको विधानबाट हटाईएको कुरालाई अझै पनि कायमै छ र हो भनेर संस्थापक पक्षले दलबलको आधारमा छलफल नै नगरी एकलौटी रुपमा युवा संघ कब्जा गर्न उद्त रहेको आरोप लगाइन्।
‘पार्टीको राजनीतिक लक्ष्य बोकेर आगामी देशको स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रमुख दलको हैसियतमा उभ्याउनको लागि परेका कार्यकर्तालाई गुटगत हिसाबमा विभाजित गरेर राजनीतिक चरित्रमाथि प्रश्नचिन्ह खडा गरिँदैछ, हामी यसमा सचेत छौँ’ उनले भनिन्।
अध्यक्ष पदको लागि मात्रै तपाईँहरुको विरोध त होइन? भन्ने पत्रकारको प्रश्नको जवाफमा उपाध्यक्ष पन्तले भनिन् ‘सत्यको वकालत गर्दा कुण्ठा र पदको लागि हुन्छ भने त्यसमा मेरो भन्नु केही छैन्, म एमाले पार्टीको आधिकारिक विधि र विधानलाई शिरोधार्य गर्ने मान्छे हुँ, नीति विपरीत कसैले काम गर्छ र गर्दैछ भने त्यसको विपक्षमा उभिने मान्छे हुँ, हाम्रा तमाम साथीहरूको माग भनेको विवादरहित युवा संघ बनाउने हो, हामी यसै मार्गमा अघि बढेका छौँ।’
त्यस्तै अर्का सचिव नरेश शाही भने,‘पार्टीको नियमावली विपरितका सांगठनिक संरचनाहरूलाई क्रियाशील गर्नु भनी एमाले पार्टी संगठन विभाग सचिव ज्ञानबहादुर भुजेलले पत्र लेख्नु अराजनीतिक काम हो,यस्ता कामले संगठनलाई मात्रै होइन,पार्टीलाई पनि फाइदा गर्दैन।’