PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​शेयर बजार चुल्याउने तीन कारण , सूचक १३१४ अंकबाट १३४४ अंकमा पुग्यो



पहिलोपोस्ट

​शेयर बजार चुल्याउने तीन कारण , सूचक १३१४ अंकबाट १३४४ अंकमा पुग्यो

काठमाडौं : गत साता झरेको बजारमा शेयर उठाएकाहरुले यस पटक १०/१५ प्रतिशत नाफा कमाएका छन्। उनीहरुले गत साता किनेको शेयर धमाधम बेच्न थालेपछि १३३८ अंक पुगेको बजार १३१४ अंकसम्म झर्यो।

त्यसपछि भने केही सम्हालिएको बजार निरन्तर बढेर १३४४ अंक हाराहारीमा बन्द भएको छ। साताको अन्तिम कारोबार दिन किनबेच रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १४५ कम्पनीको ६५ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

ब्रोकरहरुका अनुसार बजार बढ्नुमा तीन वटा मूख्य कारण छन्। पहिलो, तरलता अभाव हट्दै गएको समाचार आउन थालेका छन्, जसलाई नियामक निकायका अधिकारीहरुले सार्वजनिक रुपमै पुष्टि गर्न थालेका छन्।

दोस्रो, चुनाव जसरी पनि हुने भएको छ। मिति केही दिनमै तोकिन्छ भन्ने समाचारहरु आइरहेका छन्।

तेस्रो, बजार निकै घटिसकेकाले निश्चित अंकमा किन्छु भनेर कुरिरहेकाहरु अहिले बजार प्रवेश गरे। लगानीकर्ताहरुको प्रवेश बढेकै कारण धेरै पछि कारोबार रकममा सुधार आएको हो।

उत्पादनमूलक र अन्यवाहेक सबै सूचक हरियो भएका छन्। वित्तीय क्षेत्रका शेयरहरुले बिहीबार बजार उचालेको हो।

'चुनावको मुखमा बजार थप तल जाँदैन भन्ने बुझाइले काम गरिरहेको छ' ब्रोकर संघका उपाध्यक्ष भरत रानाभाटले भने, 'सरकारलाई पनि पैसा खर्च गर्न दवाव परेको छ। भुकम्पको दोस्रो किस्ता पनि भुक्तानीको चरणमा छजस्ता समाचारले बजारलाई सकारात्मक प्रभाव पारेको हो।'
सबैभन्दा बढी बीमा समूह २९० अंकले उक्लिएको छ। बैंकिङ २६.३७ अंक, होटल २४.६८ अंक, विकास बैंक २४ अंक, जलविद्युत १४ अंक र फाइनान्स करिव १२ अंकले उक्लिएको छ।

साधारणसभा र एफपिओको सुचना सार्वजनिकपछि बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। बैंकको चार करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको हो। प्रभु बैंकको तीन करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

बढ्दो बजारमा चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले नै बढेको छ। नौं कम्पनीको शेयर नौं प्रतिशतभन्दा बढीले उक्लिएको छ। बजार उक्लिए पनि सबैभन्दा बढी गुमाउनेमा दिब्येश्वरी जलविद्युतका लगानीकर्ताले गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell