
काठमाडौँ : नेकपा एमालेले सरकारले निर्वाचन तयारीमा उदासिनता देखाएको ठहर गरेको छ। एमाले पोलिटब्युरो बैठकले तत्काल तीनै तहको निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि आवश्यक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। सरकारको उदासिनताले गम्भीर र सशङ्कित बन्नु पर्ने अवस्था आएको एमालेले जनाएको छ।
स्थानीय तहको सीमा र सङ्ख्या निर्धारण आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्न समेत एमालेले माग गरेको छ।
एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर मुलुकलाइ निर्वाचनको दिशामा लैजान समेत आग्रह गरेको छ।
राष्ट्रहित विपरितको गतिविधि बढेको ठहरसमेत एमालेले गरेको छ।
एमालेले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षाकर्मीहरुलाई हातहतियारहरुसहित आउन छुट दिने, सार्कको भूमिकालाई कमजोर गर्ने र विगतमा छिमेकी मुलुकहरुसँग भएका सम्झौता र सहमतिको कार्यान्वयनमा ढिलासुस्ती र बहानाबाजी गर्ने सरकारको व्यवहारको आलोचना समेत गरेको छ।
बैठकमा एमाले अध्यक्ष ओलीले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, निर्वाचनसँग सम्बन्धित कानुनहरु निर्माण गर्नेलगायतका कामसहित निर्वाचनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।