काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकता महाधिवेशन हुन लागेको हो। काठमाडौंको भृकुटीमण्डपमा पार्टीको उद्घाटन र बन्दसत्र हुनेछ।
एकता महाधिवेशनपछि पार्टी अध्यक्षमा कमल थापालाई सर्वसम्मत चयन गर्ने बुधबार साँझ चार शीर्ष नेताबीच सहमति भए पनि २४ घन्टा नबित्दै अध्यक्षका अर्का प्रत्याशी डा। प्रकाशचन्द लोहनीले असन्तुष्टि जनाएका छन्। चुनाव चिह्नलाई लिएर देखाइएको असन्तुष्टिमा लोहनीले बुधबारको सम्झौताको औचित्य नभएको भन्दै सहमति पुनर्विचार गर्ने समेत बताएका छन्।
लोहनीले बिहीबार साँझ बिज्ञप्ति जारी गर्दै निर्णय पुनर्विचारको पक्षमा आफु पुगेको बताएका छन्।
दुई पार्टीबीच मंसिर ६ गते एकता भएको थियो। पार्टीको विधान अनुसार एकीकरणपछिको महाधिवेशनले पार्टी अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्द्रीय सदस्य चयन गर्नेछ। एकीकृत राप्रपाको २४ सदस्यीय कार्यसमिति हुनेछ।
पार्टीका केन्द्रीय कार्यसमिति र केन्द्रीय सदस्यको पदमा सहमति नभए शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।
पार्टी प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। महाधिवेशन प्रतिनिधिमध्ये ९० प्रतिशत काठमाडौं आइसकेको श्रेष्ठको भनाई छ। एकीकृत राप्रपामा तीन हजार एक सय १५ प्रतिनिधि छन्। विभिन्न ३० देशका प्रतिनिधिलाई राप्रपाले महाधिवेशनमा निम्तो दिएको छ। जसमध्ये अमेरिकी हङकङ लगायतबाट प्रतिनिधि आइसकेका छन्।
उद्घाटन सत्रअघि राजधानीको विभिन्न ५४ स्थानबाट सांस्कृतिक झाँकीसहितको र्याल हुनेछ। उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु समेत उपस्थित हुनेछन्।