
बनियानी : झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ।
कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिए। पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने उनले बताए।
पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउनेछन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अङ्ग, चस्मा, सुन्ने यन्त्र, लिङ्ग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउनेछैनन्।
चैतदेखि सुरु हुने कार्यक्रममा चैत मसान्तसम्म सदस्य बनेका परिवारले आगामी २०७४ जेठ १ गतेदेखि यस कार्यक्रममा सहभागी हुन पाउने जनाइएको छ।
कार्यक्रम सञ्चालनका लागि झापाका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला स्वास्थ्य बीमा समन्वय समितिसमेत गठन भइसकेको छ।
छिमेकी जिल्ला इलाममा भने कार्यक्रम लागू भइसकेको छ। मेची अञ्चल अस्पताल भद्रपुरले बिहीबार आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा बीमा कार्यक्रमबारे जानकारी दिइएको हो। रासस